टोखा नगरपालिकाले निःशुल्क डकर्मी तालिम सञ्चालन गर्ने
काठमाडौँ,१ असारः। सुरक्षित, गुणस्तरीय तथा भूकम्पप्रतिरोधी भौतिक संरचना निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यसहित टोखा नगरपालिकाले निःशुल्क डकर्मी (मेसन) तालिम सञ्चालन गर्ने भएको छ।
नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन हुन लागेको उक्त तालिम निर्माण क्षेत्रमा कार्यरत तथा यस क्षेत्रमा सीप हासिल गर्न इच्छुक कामदारहरूका लागि लक्षित गरिएको हो। तालिममार्फत स्थानीय कामदारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै सुरक्षित निर्माण संस्कृतिलाई बलियो बनाउने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरू १८ वर्ष पूरा भई ५५ वर्ष ननाघेका हुनुपर्नेछ। साथै, निर्माण कार्य गर्न शारीरिक रूपमा सक्षम तथा स्वस्थ हुनुपर्ने व्यवस्था गरिएको छ।
आवेदनका लागि नेपाली नागरिकताको प्रतिलिपि एक प्रति र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति आवश्यक पर्नेछ। इच्छुक व्यक्तिहरूले टोक्हा नगरपालिकाको बस्ती विकास तथा नक्सा पास शाखा वा सम्बन्धित वडा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।
नगरपालिकाले असार ८ गते कार्यालय समयभित्र आवेदन पेश गर्न आग्रह गरेको छ। सीमित सिट उपलब्ध भएकाले ‘पहिले आउनेलाई प्राथमिकता’को आधारमा सहभागी छनोट गरिने जानकारी पनि सूचनामा उल्लेख गरिएको छ।
स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्दै सुरक्षित र दिगो निर्माण अभ्यासलाई प्रवर्द्धन गर्ने नगरपालिकाको यो पहल निर्माण क्षेत्रमा संलग्न कामदारहरूका लागि महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।