काठमाडौं २०८३ जेठ २८। काठमाडौंको सांस्कृतिक मुटु दरबारमार्गस्थित Gallery 108 मा भोलि जेठ २९ देखि एक विशेष कला प्रदर्शनी यात्रा सुरु हुने भएको छ, जसले दर्शकलाई समयको तह तह खोल्दै पुरातन स्मृतिसम्म पुर्याउने अपेक्षा गरिएको छ।
“Archetype (आध्यविम्व)” शीर्षकमा प्रस्तुत यो एकल कला प्रदर्शनी कलाकार कृष्ण गोपाल श्रेष्ठको सिर्जनात्मक खोज हो। यसमा नेपालका प्राचीन कला परम्परामा गहिरो रूपमा जरा गाडेका चित्रकला, शिल्पकला र धार्मिक ,आध्यात्मिक प्रतीकहरूलाई समकालीन कलाभाषामा पुनःव्याख्या गरिएको छ।
कलाकार श्रेष्ठले पुराना हस्तलिखित ग्रन्थहरूमा भेटिने सूक्ष्म चित्रशैली, पत्थरमा कुँदिएका शिल्पहरूको मौन भाषा, र देवदेवीका प्रतीकात्मक रूपहरूलाई केवल पुनःउत्पादन होइन, नयाँ दृष्टिकोणसहित पुनर्जन्म दिने प्रयास गरेका छन्। यी कृतिहरूले दर्शकलाई केवल हेर्ने होइन, अनुभव गर्ने यात्रामा डोर्याउने विश्वास गरिएको छ,जहाँ इतिहास, मिथक र सामूहिक स्मृति एकै फ्रेममा मिसिन्छन्।
प्रदर्शनी भोलि मिति २०८३ जेठ २९ देखि २०८३ असार २८ सम्म दैनिक बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म अवलोकन गर्न सकिनेछ। सोमबार भने विशेष समय मिलाएर मात्र प्रवेश उपलब्ध हुनेछ। प्रवेश निःशुल्क राखिएको छ।
यो प्रदर्शनी केवल कला प्रदर्शन मात्र होइन, समयसँग संवाद गर्ने एक सूक्ष्म प्रयास हो ,जहाँ पुराना विम्बहरू फेरि बाँच्न थाल्छन् र नयाँ पुस्तासँग मौन रूपमा कुरा गर्छन्।

