काठमाडौं २०८३ जेठ २८। ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले समृद्ध टोखा नगरको मौलिक पहिचान, मूल्य र मान्यताको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले टोखा नगर सांस्कृतिक संरक्षित सरोकार समिति गठन तथा वृहत् भेला कार्यक्रम आयोजना गरिने भएको छ।
टोखाको मौलिक संस्कृति, परम्परा, सम्पदा र जीवनशैलीलाई संरक्षण गर्दै भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यसहित टोखा नगर सांस्कृतिक संरक्षित सरोकार समिति गठनको पहल थालिएको हो। यस अभियानमार्फत नगरको ऐतिहासिक गरिमा, सांस्कृतिक मूल्य र पहिचानलाई थप सशक्त बनाउने लक्ष्य लिइएको आयोजकले जनाएको छ।
समितिका अनुसार पछिल्लो समय बढ्दो सहरीकरण र बदलिँदो सामाजिक परिवेशका कारण सांस्कृतिक सम्पदा तथा परम्परामाथि चुनौती थपिँदै गएको सन्दर्भमा संरक्षणका साझा एजेन्डा तय गर्न भेला आयोजना गर्न लागिएको हो। कार्यक्रममा सांस्कृतिक सम्पदाको संरक्षण, दीर्घकालीन कार्ययोजना निर्माण, चुनौतीहरूको पहिचान तथा समाधानका उपायबारे व्यापक छलफल गरिनेछ।
यसैगरी, संस्कृतिप्रेमी, बुद्धिजीवी, सामाजिक अभियन्ता, स्थानीय अगुवा तथा नगरवासीबीच सहकार्य र समन्वयलाई मजबुत बनाउँदै टोखाको मौलिक पहिचान जोगाउने साझा अभियानलाई संस्थागत रूप दिने तयारी गरिएको छ।
समितिले सार्वजनिक गरेको सूचनाअनुसार भोलि मिति २०८३ जेठ २९ गते शुक्रबार बिहान ७:३० बजे ससुख्यमा वृहत् भेला तथा समिति गठन कार्यक्रम आयोजना हुनेछ।
टोखाको इतिहास, संस्कृति र सभ्यताको संरक्षण केवल एउटा अभियान नभई भावी पुस्ताप्रतिको दायित्व भएको उल्लेख गर्दै आयोजकले सम्पूर्ण सरोकारवाला, संस्कृतिप्रेमी तथा स्थानीय महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई अभियानलाई सफल बनाउन हार्दिक अनुरोध गरेको छ।

