काठमाडौँ, २६ जेठः टोखा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि मेलमिलापकर्ताको रूपमा नाम सूचीकृत तथा अद्यावधिक गराउन इच्छुक व्यक्तिहरूसँग आवेदन आह्वान गरेको छ।
नगरपालिकाको न्यायिक (कानून) इकाइले सार्वजनिक गरेको सूचनाअनुसार टोखा नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने र मेलमिलाप सम्बन्धी आधारभूत तालिम प्राप्त गरेका व्यक्तिहरूले २०८३ असार २५ गतेभित्र आवश्यक कागजातसहित निवेदन दिन सक्नेछन्।
सूचनाअनुसार आवेदकले नेपाली नागरिकताको प्रतिलिपि, कम्तीमा एसएलसी वा सोभन्दा माथिको शैक्षिक योग्यताको प्रमाणपत्र, मेलमिलापकर्ताको आधारभूत तालिम प्राप्त गरेको प्रमाणपत्र तथा दुई प्रति पासपोर्ट साइजको फोटो पेश गर्नुपर्नेछ।
नगरपालिकाले निवेदनको ढाँचा न्यायिक समिति सचिवालयबाट प्राप्त गर्न सकिने जनाएको छ। साथै, नगरपालिकाको टोखा नगरपालिका वेबसाइट तथा इजलास पोर्टल बाट समेत डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ।
यसअघि आर्थिक वर्ष २०८२/०८३ मा सूचीकृत भएका मेलमिलापकर्ताहरूले समेत पुनः सूची अद्यावधिक गर्नुपर्ने नगरपालिकाले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईद्वारा जारी सूचनामा स्थानीय तहमा विवाद समाधान प्रक्रियालाई थप प्रभावकारी बनाउन योग्य मेलमिलापकर्ताको सूची अद्यावधिक गर्न लागिएको उल्लेख गरिएको छ।
सूचना:


