• TOKHA LIVE

      TOKHA LIVE

    • २५ जेष्ठ २०८३, सोमबार १९:१०

    विश्व ‘ब्रेन ट्युमर’ दिवसः ग्राण्डीमा सचेतनामूलक कार्यक्रम गरी मनाइयो

    काठमाडौँ, २५ जेठ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा विश्व ‘ब्रेन ट्युमर’ दिवसका अवसरमा सचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइएको छ।

    ‘प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण’ भन्ने नाराका साथ सोमबार अस्पतालमा विभिन्न स्वास्थ्य विज्ञहरूको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो।

    कार्यक्रममा बोल्दै ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद विजुक्छेले ब्रेन ट्युमरको समयमै पहिचान र जनचेतना अत्यावश्यक रहेको बताउनुभयो। उहाँले ब्रेन ट्युमरका लक्षणहरू प्रायः सूक्ष्म हुने भएकाले समुदायस्तरमा व्यापक सचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो।

    डा. विजुक्छेले मस्तिष्क ट्युमरका लक्षणहरू सधैँ गम्भीर नदेखिन पनि सक्ने उल्लेख गर्दै कहिलेकाहीँ बिरामी विना कारण हाँसिरहने वा हिँडडुलमा सामान्य कठिनाइ हुनेजस्ता परिवर्तन पनि संकेत हुनसक्ने बताउनुभयो। “मस्तिष्क शरीरको कमान्ड सेन्टर भएकाले यसमा देखिने साना परिवर्तनलाई पनि गम्भीरतापूर्वक लिनुपर्छ,” उहाँले भन्नुभयो।

    उहाँले विगतमा ब्रेन ट्युमर पत्ता लगाउन र उपचार गर्न कठिन हुने भए पनि हाल प्रविधि र चिकित्सा विज्ञानको विकासले ठूलो आशा जगाएको बताउनुभयो। शल्यक्रिया, मेडिकल अंकोलोजी र रेडिएसन प्रविधिको विकासले बिरामीको आयु र उपचार परिणाममा सुधार आएको उहाँको भनाइ थियो।

    त्यस्तै, ग्राण्डी अस्पतालका वरिष्ठ न्यूरोलोजी कन्सल्टेन्ट डा. राजु पौडेलले निरन्तर टाउको दुख्ने, बिहान उठ्नेबित्तिकै वान्ता हुने, कान नसुन्ने, छारे रोग देखिने तथा शरीरमा प्यारालाइसिस हुनेजस्ता लक्षण ब्रेन ट्युमरका हुनसक्ने बताउनुभयो। उहाँले पछिल्लो समय नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दै गएको उल्लेख गर्दै प्रारम्भिक पहिचान भए धेरैको जीवन बचाउन सकिने धारणा राख्नुभयो।

    काठमाडौँ क्यान्सर सेन्टरका रेडिएसन अंकोलोजिस्ट डा. आविस अधिकारीले ब्रेन ट्युमरको उपचारमा सर्जिकल अंकोलोजिस्ट, मेडिकल अंकोलोजिस्ट र रेडिएसन अंकोलोजिस्टको संयुक्त भूमिका महत्वपूर्ण हुने बताउनुभयो। समयमै पहिचान गर्न सके बिरामीको जीवन लम्ब्याउन सकिने उहाँको भनाइ थियो।

    त्यसैगरी मेडिकल अंकोलोजिस्ट डा. राजीवकुमार देव तथा ग्राण्डी अस्पतालका कन्सल्ट्यान्ट न्यूरोलोजिस्ट डा. रुपेन्द्रबहादुर अधिकारीलगायतले ट्युमर कुन भागमा छ भन्ने आधारमा लक्षण फरक हुने बताउनुभयो।

    उहाँहरूले शल्यक्रियाको मुख्य उद्देश्य ट्युमर हटाउँदा बिरामीको अन्य शारीरिक कार्यक्षमतामा क्षति नपुग्ने सुनिश्चित गर्नु रहेको उल्लेख गर्नुभयो। पहिले ठूलो चिरफार गरेर गरिने शल्यक्रियाको सट्टा अहिले स–साना प्वाल वा नाकमार्फत गरिने ‘इन्डोस्कोपिक’ विधि प्रयोगमा आएको पनि उनीहरूको भनाइ थियो।

    Facebook Comments

    सम्बन्धित खवर

    टोखा नगरपालिकामा आयो दमकल

  • छुटाउनुभयो कि? सबै