काठमाडौँ, ९ जेठःसूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले सरकारी विज्ञापन वितरणमा व्यापक अनियमितता र चलखेल हुने गरेको गुनासो आएपछि त्यसलाई रोक्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथा को ३०औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रमा वास्तविक आवश्यकता भएका संस्थाले राज्यको सहयोग नपाउने तर केही संस्थाले दुरुपयोग गरिरहेको अवस्था रहेको टिप्पणी गरे ।
“पाउनुपर्ने मिडियाले सहयोग पाइरहेका छैनन्, तर नपाउनुपर्नेले दुरुपयोग गरिरहेका छन् भन्ने विषयमा सञ्चार क्षेत्रबाट बलियो आवाज उठ्न सकेन,” उनले भने ।
उनले श्रमजीवी पत्रकार, अनुसन्धानकर्ता, प्राज्ञिक क्षेत्र तथा सरोकारवालाबाट पनि यस विषयमा पर्याप्त अध्ययन, अनुसन्धान र बहस हुन नसकेको धारणा राखे ।
जनताको करबाट संकलित सरकारी स्रोतको उपयोग पारदर्शी, उत्तरदायी र जनहितमुखी हुनुपर्नेमा जोड दिँदै मन्त्री तिमिल्सिनाले लोककल्याणकारी विज्ञापनमार्फत राज्यले सञ्चार क्षेत्रलाई सहयोग गर्दै आएको बताए । उनका अनुसार हरेक वर्ष यस शीर्षकमा करिब ३० करोड रुपैयाँभन्दा बढी खर्च हुँदै आएको छ ।
हालको मिडिया परिदृश्य केही अलमलिएको, बाटो बिराइएको र असन्तुलित देखिएको उल्लेख गर्दै उनले जनताको हितमा काम गर्ने सञ्चारमाध्यमले मात्रै राज्यको सहयोग पाउनुपर्ने बताएका छन् । त्यसका लागि सञ्चार क्षेत्रभित्र रचनात्मक बहस, सुझाव र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

