काठमाडौँ, १६ चैत / प्रधानमन्त्री वालेन्द्र शाह ले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र समावेशी बनाइने बताउनुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कर्णाली प्रदेशका सङ्घीय सांसदहरूसँग आज भएको छलफलमा उहाँले बजेटमार्फत कर्णालीलाई न्यायोचित सम्बोधन गरिने विश्वास व्यक्त गर्नुभयो।
छलफलमा सहभागी सल्यान क्षेत्र नं. १ का सांसद रमेश मल्ल का अनुसार प्रधानमन्त्री शाहले “कर्णालीलाई आगामी बजेटमा न्यायोचित सम्बोधन गरिन्छ, बजेट सन्तुलित हुन्छ” भन्ने धारणा राख्नुभएको थियो। साथै, चालु वर्ष सरकार शासकीय सुधारमा केन्द्रित रहने उहाँले उल्लेख गर्नुभयो।
छलफल आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा केन्द्रित रहेको जानकारी सांसद मल्लले दिनुभयो। सहभागी सांसदहरूले कर्णाली प्रदेशलाई प्राथमिकतामा राख्न, शासकीय सुधार, भौतिक पूर्वाधार विकास तथा सेवा विस्तारमा जोड दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
सांसद मल्लका अनुसार जाजरकोट भूकम्पपछिको राहत तथा पुनर्निर्माण, मनसुनपूर्व तयारी, कर्णाली, भेरी र राप्तीलगायत नदी करिडोरका सडक, मध्यपहाडी, मदनभण्डारी तथा लुम्बिनी–रारा लोकमार्ग, स्वास्थ्य बिमा, मातृ–शिशु पोषण, दैलेखको पेट्रोलियम सम्भावना अध्ययन, वन्यजन्तु जोखिम व्यवस्थापन तथा सञ्चार, विद्युत्, खानेपानी, सिँचाइ, कृषि, वन, पर्यटन र शिक्षा क्षेत्रका प्राथमिकताबारे प्रधानमन्त्रीसमक्ष धारणा राखिएको थियो।
छलफलमा नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी का सांसदहरूको सहभागिता रहेको थियो।

