टोखालाइभ डट कम / चैत ३ , २०८२।
काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक नगरी टोखामा पाहा चःह्रे बिस्का: नखः आजबाट विधिवत् सुरु भएको छ। थनेलाछीस्थित यँसि गायमा चोसी यँसि (लिङ्गो) उठाइएसँगै जात्राको औपचारिक सुरुवात भएको हो।
महादेवको प्रतीक मानिने यँसि उठाउनु अघि यँसि गुठी खलःहरूले विशेष पूजा सम्पन्न गर्छन्। त्यसपछि परम्परागत विधिअनुसार सयौँ स्थानीयको सामूहिक प्रयासमा करिब ५५ हात लामो चोसि योंसी डोरीको सहायताले यँसि ठड्याइन्छ। यही यँसि उठाइएपछि जात्रा सुरु भएको संकेत मानिन्छ।
स्थानीय विश्वासअनुसार योंसी (लिङ्गो) जात्राले नयाँ वर्षको स्वागत गर्छ। यँसिसँगै फर्फराउने लामो हलिपताकामा ३३ कोटी देवीदेवता, दिक्पाल र क्षेत्रपालका प्रतीकात्मक चित्रहरू अंकित हुन्छन्, जसले धार्मिक तथा सांस्कृतिक महत्व झन् बढाउँछ।
चैत कृष्ण चतुर्दशीका दिन बिहान यँसि उठाइएपछि राति अजिमा द्यः (संकटा), सपन विनायक र लुकुमहाद्यः (लुकेका महादेव) को पूजा गरिन्छ। स्थानीय भाषामा यसलाई लुकुमहाद्यः तथा लाखे द्यः जात्रा पनि भनिन्छ, जसलाई पिशाच चतुर्दशीका रूपमा समेत चिनिन्छ।
यसै दिन साँझपख अजिमा द्यः (पार्वती) र सपन विनायक (गणेश) का प्रतिमालाई खतमा राखी बाजागाजासहित टोल–चोक हुँदै नगर परिक्रमा गराइन्छ। यसलाई आमाबुवा–छोराको प्रतीकात्मक मिलन र लुकेका महादेवको खोजीका रूपमा पनि लिइन्छ।
मध्यरातमा आचार्यद्वारा यँसिको अगाडि गरिने विशेष तान्त्रिक पूजा अत्यन्त गोप्य मानिन्छ, जसलाई यँसि खलःबाहेक अरूले हेर्न नहुने परम्परा रहिआएको छ।
यससँगै वैशाख १ गते मनाइने बिस्का: जात्राको विधिगत सुरुवात भएको मानिन्छ। प्रत्येक वर्ष वैशाख ५ गते मनाइने “चोसि योंसी कोथलेगु” पर्व जात्राको मुख्य आकर्षण हो, जसलाई टोखावासीले हर्षोल्लासका साथ मनाउने गर्छन्।
धार्मिक मान्यताअनुसार लिङ्गो जात्रा अवलोकन गर्दा सुख, समृद्धि र सहकाल आउने तथा शत्रु नाश हुने विश्वास रहिआएको छ। उपत्यकाका विभिन्न जात्रामध्ये टोखाको बिस्का: जात्राले विशेष पहिचान बोकेको छ।
चोसि यँसीको मार्मिक कथा
टोखाको बिस्का: जात्रासँग एउटा पुरानो किंवदन्ती पनि जोडिएको छ। भनिन्छ, प्राचीनकालमा टोखाका एक तान्त्रिक गुभाजु आफ्नी श्रीमतीको इच्छाअनुसार नागको रूप धारण गर्छन्। पुनः मानवरूपमा फर्किन श्रीमतीले अक्षता छर्कनुपर्नेमा डरले आफ्नै मुखमा हालिदिन्छिन्, जसका कारण उनी पनि नागिनी बन्छिन्।
मानवरूपमा फर्कन धेरै प्रयास गरे पनि असफल भएपछि दुवैको मृत्यु हुन्छ। त्यसपछि उनीहरूको आत्माको शान्तिका लागि तत्कालीन राजाले बिस्का: जात्राको सुरुवात गराएको जनविश्वास छ।
स्थानीयहरूका अनुसार ‘बिस्या’ शब्दबाट विकसित हुँदै ‘बिस्का’ र पछि ‘बिस्केट’ नाम रहन गएको हो, जसको अर्थ सर्पसँग सम्बन्धित घटना सम्झनु भन्ने बुझिन्छ। यही सम्झनामा टोखावासीले आजसम्म पनि हरेक वर्ष यो जात्रा मनाउँदै आएका छन्।

