• TOKHA LIVE

    • १५ पुष २०८२, मंगलवार १६:२६

    टोखा वडा ६ मा गर्भवती, सुत्केरी र बालबालिकाका लागि पोषण सहयोग

    टाेखा काठमाडौं १५ पौष २०८२ । टोखा नगरपालिका वडा ६ ले गर्भवती, सुत्केरी महिला तथा बालबालिकाको स्वास्थ्य र पोषण अवस्था सुदृढ बनाउने उद्देश्यले पोषण सामग्री वितरण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।
    नगर कार्यपालिकाको कार्यालयअन्तर्गत आधारभूत स्वास्थ्य सेवा केन्द्रको आयोजनामा टोखा नगरपालिका वडा नं. ६ मा सम्पन्न कार्यक्रममा सहभागीहरूलाई सन्तुलित आहार, मातृ तथा शिशु स्वास्थ्य र पोषणको महत्वबारे जानकारी गराइएको थियो। सो अवसरमा लक्षित वर्गका गर्भवती, सुत्केरी महिला तथा बालबालिकालाई आवश्यक पोषण सामग्रीसमेत वितरण गरिएको थियो।
    कार्यक्रममा बोल्दै वडा नं. ६ की अध्यक्ष शान्ता खनाल पौडेलले गर्भवती, सुत्केरी महिला र बालबालिकाको पोषणलाई नगरको प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले आमाको स्वास्थ्य राम्रो भए मात्र स्वस्थ र सक्षम सन्तानको भविष्य सुनिश्चित हुने उल्लेख गर्दै पोषणयुक्त आहार, समयमै स्वास्थ्य परीक्षण र सचेत जीवनशैलीमा ध्यान दिन आग्रह गर्नुभयो।

    “आज गरिने सानो लगानीले भोलिको पुस्ता स्वस्थ, सक्षम र आत्मनिर्भर बन्छ,” अध्यक्ष पौडेलले भन्नुभयो, “वडा स्तरबाटै आमाहरू र बालबालिकालाई लक्षित यस्ता पोषण कार्यक्रमलाई निरन्तरता दिइनेछ।”
    कार्यक्रमले आमाहरूमा पोषणसम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै बालबालिकाको स्वस्थ र उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। टोखा नगरपालिकाले स्थानीय तहबाटै नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै यस्ता जनमुखी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर अघि बढाउने जनाएको छ।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै