टोखा, काठमाडौं पौष ११ ,२०८२/
टोखा नगरपालिकाले समाजका अनुभवी र मार्गदर्शक ज्येष्ठ नागरिकप्रति श्रद्धा, सम्मान र कृतज्ञता व्यक्त गर्दै ५ औँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्य रूपमा मनाएको छ।
नगर कार्यपालिकाको कार्यालय मेजुहितिको आयोजनामा सम्पन्न कार्यक्रममा समाज निर्माणमा ज्येष्ठ नागरिकले पुर्याउँदै आएको योगदानको स्मरण गर्दै उनीहरूप्रति सम्मान प्रकट गरिएको थियो। ‘हाम्रो साझा अभियान : ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नारासहित आयोजित कार्यक्रममा नगरप्रमुख प्रकाश अधिकारीले ज्येष्ठ नागरिकको सम्मानजनक र स्वस्थ जीवन सुनिश्चित गर्न नगरपालिकाले पालिकास्तरबाटै पहिलोपटक‘मेयर दीर्घायु कार्यक्रम’ सञ्चालनमा ल्याएको सो कार्यक्रम अत्यन्तै फलदायी भएको जानकारी दिनुभयो।
नगरप्रमुख अधिकारीका अनुसार उक्त कार्यक्रममार्फत ज्येष्ठ नागरिकका लागि नियमित स्वास्थ्य जाँच, औषधोपचार तथा आवश्यक स्वास्थ्य सेवाहरू निरन्तर रूपमा उपलब्ध गराइँदै आएको छ। उहाँले ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर भएको उल्लेख गर्दै उनीहरूको जीवन अनुभव, ज्ञान र मार्गदर्शन भावी पुस्ताका लागि प्रेरणाको स्रोत हुने बताउनुभयो।
यसै अवसरमा टोखा ज्येष्ठ नागरिक समाजद्वारा तयार पारिएको विशिष्ट पुस्तकको विमोचन नगरप्रमुख अधिकारीले गर्नुभयो। टोखा नगरपालिकाभरका ज्येष्ठ नागरिकहरूको जीवन दर्शन, गहन अनुभव र सिर्जनालाई समेटिएको उक्त पुस्तकको पहिलो अंक समाजका अध्यक्ष ज्ञानबहादुर भण्डारीले आफ्नै खर्चमा प्रकाशन गर्नुभएकोमा नगरप्रमुखले दोसल्ला ओढाइ कदरपत्रसहित सम्मान गर्दै धन्यवाद व्यक्त गर्नुभयो। कार्यक्रममा समाजका अग्रज ज्येष्ठ नागरिकहरूलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा टोखा नगरपालिकाले कल्याणकारी सेवाको औपचारिक शुभारम्भ भैसकेको जानकारी गराउदै यस अन्तर्गत टोखामा जन्मिने बालबालिकाका लागि बाल बचत खातामा ५ हजार रुपैयाँ, न्यून आय भएका परिवारका लागि क्रियाखर्च सहयोगस्वरूप १० हजार रुपैयाँ, मृगौला रोग उपचारका लागि १० हजार रुपैयाँ तथा क्यान्सर रोग उपचारका लागि पीडितलाई जनही ३५ हजार रुपैयाँ सहयोग प्रदान गरिँदै आएको छ। साथै, आउँदो दिनमा मुटु रोगीको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गर्ने नगर प्रमुख प्रकाश अधिकारीले घोषणा गर्नुभयो।
टोखा नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमको समापन गर्दै उपप्रमुख मुरारी तामाङले यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकप्रतिको सम्मान, अपनत्व र सामाजिक उत्तरदायित्वको भावनालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, वडा नं. २ की कार्यवाहक अध्यक्ष सबिना श्रेष्ठ, वडा नं. ६ की अध्यक्ष शान्ता खनाल पौडेल, वडा नं. ७ का अध्यक्ष नरोत्तम राना, वडा नं. १० का अध्यक्ष मचाकाजी महर्जन, महिला तथा बाल कल्याण अधिकारी निर्मला रेग्मी, नगरकार्यपालिका सदस्य सायरा परियारलगायत जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा ज्येष्ठ नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


