नविना श्रेष्ठ
हेटौंडा ,पौष ९, २०८२ |
बागमती प्रदेशका माननीय मुख्यमन्त्री तथा नेपाल स्काउट बागमती प्रदेशका संरक्षक इन्द्रबहादुर वानियाँ र प्रदेश युवा तथा खेलकुद मन्त्री एवं नेपाल स्काउट बागमती प्रदेशकी स्काउट प्रमुख उर्मिला नेपाल केसीको पद तथा गोपनीयताको शपथ ग्रहण तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ।
माननीय मुख्यमन्त्रीको कार्यालयस्थित सभाहलमा आयोजित उक्त समारोहमा नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव एवं वरिष्ठ राष्ट्रिय प्रशिक्षक रामगोपाल कर्माचार्य तथा पूर्व राष्ट्रिय तालिम आयुक्त एवं वरिष्ठ राष्ट्रिय प्रशिक्षक भक्तराज राजभण्डारीले दीक्षान्त तथा शपथ ग्रहण गराउनुभएको थियो।
कार्यक्रममा नेपाल स्काउट बागमती प्रदेशका सदस्यता वृद्धि आयुक्त श्याम पुडासैनी, शैक्षिक पद्धति आयुक्त पविन्द्रमान सिंह, बिजीश्वरी अमात्य, सामुदायिक विकास आयुक्त धर्मभक्त मल्ल, कार्यसमिति सदस्यहरू रशोक कुमार श्रेष्ठ, जमुना शर्मा र नविना श्रेष्ठ, साथै परिषद् सदस्यहरू गीतापन्थी शरण महर्जनको सहभागिता रहेको थियो।
त्यसैगरी तालिम दलका राष्ट्रिय प्रशिक्षक अछुत प्रजापति, पूर्व जिल्ला आयुक्त बेली थापा, सहायक राष्ट्रिय प्रशिक्षक कमलादेवी अमात्य भण्डारी, स्काउटरहरू सीतादेवी कार्की र सपना श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका स्थानीय स्काउट कार्यसमिति सदस्यहरू देमिज थापा मगर, ईश्वर लामिछाने, बिनापन्थी निशान बलामी लगायतको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमलाई अझ उत्साह, प्रेरणा र सहयोग प्रदान गर्नुहुने समाजसेवी हेराकाजी महर्जन डंगोल, राजेन्द्र कर्मचार्य, पत्रकार, मिडियाकर्मी, सुरक्षाकर्मी तथा विभिन्न मन्त्रालयका उत्कृष्ट व्यक्तिहरूको बाक्लो उपस्थितीले कार्यक्रमलाई अझ गरिमामय बनाएको थियो।

कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री इन्द्रबहादुर वानियाँले नेपाल स्काउटलाई विद्यालयमा मात्र सीमित नराखी विश्वविद्यालय तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। स्काउटलाई पाठ्यक्रममै समेट्ने र बागमती प्रदेशमा भवन निर्माणका लागि आवश्यक सानो जमिन उपलब्ध गराउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।

यस्तै, प्रदेश युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल केसीले स्काउटले दिने जीवनोपयोगी शिक्षालाई समाजका सबै युवायुवतीसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याउँदै यसलाई विश्वविद्यालयसम्म विस्तार गरी पाठ्यक्रममा अनिवार्य गरिनुपर्ने बताउनुभयो। उहाँले स्काउटले अनुशासन, नेतृत्व र जीवनका चुनौती समाधान गर्न सहयोग गर्ने भएकाले यसलाई विश्वव्यापी रूपमा सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो। आफू पनि युवा अवस्थामा स्काउटमा आबद्ध रहेको स्मरण गर्दै उहाँले स्काउट सबै उमेर समूहलाई समेट्ने अभियान भएको उल्लेख गर्नुभयो।
नेपाल स्काउटका निवर्तमान राष्ट्रिय सचिव रामगोपाल कर्माचार्यले दीक्षित मन्त्रीहरूलाई कार्यकालको शुभकामना दिँदै बागमती प्रदेशका स्काउट अझ सक्रिय भएर स्काउट आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरसम्म फैलाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका सभाध्यक्ष नेपाल स्काउट बागमती प्रदेशका प्रमुख आयुक्त शिवकुमार त्वायनाले उपस्थित सम्पूर्णप्रति आभार व्यक्त गर्दै, व्यस्त समयका बाबजुद कार्यक्रममा सहभागिता जनाई कार्यक्रमको गरिमा बढाइदिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो।
पद तथा गोपनीयताको शपथ ग्रहण तथा दीक्षान्त कार्यक्रमको सञ्चालन नविना श्रेष्ठले गर्नुभएको थियो।


