• TOKHA LIVE

    • ९ पुष २०८२, बुधबार ०६:४६

    भद्रकाली मन्दिर पुनःनिर्माण : समुदायको अपनत्व र समन्वय उदाहरणीय उपप्रमुख डंगोलद्वारा पुनःनिर्माण कार्यको अनुगमन

     

    काठमाडौँ, ९ पौष २०८२ ।
    भद्रकाली मन्दिरको पुनःनिर्माण कार्य सन्तोषजनक रूपमा अघि बढिरहेको छ। काठमाडौँ महानगरपालिकाकी उपप्रमुख तथा योजना तथा अनुगमन समितिकी संयोजक सुनिता डंगोलले पुनःनिर्माणको अनुगमन गर्दै समुदायको सक्रिय सहभागिता र सरोकारवाला निकायबीचको समन्वय अनुकरणीय भएको बताउनुभयो।
    अनुगमनका क्रममा उपप्रमुख डंगोलले पुनःनिर्माणको गुणस्तरमा विशेष ध्यान दिन सम्पदा तथा पर्यटन विभागलाई र निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिनुभयो। सत्तल निर्माणमा परम्परागत काठकलाका रैथाने सिपालुहरूको सुझाव लिन तथा कम्पाउण्ड वाल निर्माण गर्दा सुरक्षा, सौन्दर्य, मौलिकता र प्रयोगको सहजतालाई प्राथमिकता दिन उहाँको आग्रह थियो।
    अनुगमन टोलीमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सम्पदा तथा पर्यटन विभागकी प्रमुख कुमारी राई र वरिष्ठ इञ्जिनियर रविन्द्र रिजालले पुनःनिर्माणको प्रक्रिया, सामग्री र परम्परागत शैलीबारे जानकारी गराउनुभएको थियो। साथै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गरागाईँ, गुठी संस्थानका सदस्य सचिव शैलेशराज कुँवर, वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धर तथा गुठी र समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो।
    योजना, अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछाने सुवेदीका अनुसार चालु आर्थिक वर्षमा कार्यान्वयनमा रहेका योजनाहरूको नियमित अनुगमन भइरहेको छ।
    भद्रकाली मन्दिर भौगोलिक रूपमा वडा नं. ११ मा अवस्थित भए पनि यससँग सम्बन्धित जात्रा, संस्कार र सांस्कृतिक परम्परा वडा नं. २२ लगायत आसपासका वडासँग जोडिएको छ। मन्दिर परिसरमा विभिन्न समुदायका कुलदेवता स्थल रहेकाले यसको गरिमा जोगाउँदै पुनःनिर्माण भइरहेको विभाग प्रमुख कुमारी राईले बताउनुभयो।
    २०७२ सालको भूकम्पबाट जीर्ण बनेका मन्दिर परिसरका सत्तल पुनःनिर्माणका लागि २०८१ जेठ ६ गते निर्माण कम्पनीसँग सम्झौता भई असार ४ गते कार्यादेश दिइएको थियो। असार २७ गते जग पूजा सम्पन्न भएपछि पुनःनिर्माण कार्य सुरु भएको हो। प्रारम्भिक लागत अनुमान ३६ करोड रुपैयाँ रहेकामा खुला प्रतिस्पर्धामार्फत ३४ करोड ८० लाख ७१ हजार रुपैयाँमा तुल्सी अम्बुजा जेभीले जिम्मा पाएको हो। डिजाइनमा केही संशोधन भएपछि हाल सम्झौता रकम ३६ करोड ८० लाख ४ हजार रुपैयाँ पुगेको छ। निर्माण कार्य २०८४ असार ३ गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ।
    सत्तल तथा अन्य संरचनाहरू परम्परागत नेवारी शैलीमा निर्माण भइरहेका छन्। कुँदिएका बुट्टेदार ढोका–झ्याल, थाम र झिँगटीको छानाले मन्दिर परिसरलाई मौलिक पहिचान दिनेछ। भद्रकाली परिसरको कुल क्षेत्रफल ४ हजार ५४४ वर्गमिटर रहेको छ।
    मन्दिर पुनःनिर्माणलाई प्रभावकारी बनाउन सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको संयोजकत्वमा सहजीकरण समिति सक्रिय छ। यस समितिमा स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा, गुठी संस्था र सम्बन्धित निकायका प्रतिनिधिहरू सहभागी छन्। समितिले अभिलेखनदेखि सामग्री व्यवस्थापनसम्म पुनःनिर्माण कार्यलाई सहज बनाउँदै आएको छ।
    भद्रकाली मन्दिरको पुनःनिर्माण केवल संरचना उठाउने काम मात्र नभई, समुदायको आस्था, संस्कृति र इतिहासलाई भावी पुस्तासम्म सुरक्षित राख्ने साझा प्रयास बनेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै