• TOKHA LIVE

    • ६ पुष २०८२, आईतवार १७:२१

    कामपा वडा २२ मा एसईई उत्तीर्ण विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित

     

    काठमाडौँ, ६ पुस।
    काठमाडौँ महानगरपालिका वडा नं. २२ ले एसईई परीक्षा उत्तीर्ण विद्यार्थी तथा खेल, समाजसेवा र अन्य विविध क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई सम्मान गरेको छ।
    कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाको शिक्षा तथा स्वास्थ्य समितिका संयोजक एवं वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनले मानव पुँजी पलायन अहिलेको गम्भीर र चिन्ताजनक समस्या रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “युवाहरुले आफ्नै ठाउँमा पनि सम्भावना देख्न सकून् भन्ने हाम्रो चाहना हो। हुन्छ र सकिन्छ भन्ने आत्मविश्वास जगाउन सरकार र नागरिकबीचको सम्बन्ध अझ नजिक हुन आवश्यक छ।”

    अवसरको समान वितरण र स्थानीय सम्भावनाको पहिचान नै पलायन रोकथामको आधार भएको उल्लेख गर्दै अध्यक्ष महर्जनले सम्मान कार्यक्रममार्फत विभिन्न क्षेत्रमा निरन्तर प्रयास गरिरहेका व्यक्तित्व र नवयुवालाई प्रोत्साहन गर्न खोजिएको स्पष्ट पार्नुभयो। “स्थानीय स्तरमै सम्भावना खोजेर त्यसलाई विस्तार गर्न सके समृद्धिको यात्रा यहीँबाट सुरु हुन्छ,” उहाँले जोड दिनुभयो।

    कार्यक्रममा दिगुख्य गुथिका अध्यक्ष तथा अनलिमिटेडका प्रमुख कार्यकारी एलेन वैलोचन तुलाधरले जीवनभर निरन्तर सिकिरहने बानीले व्यक्ति जहाँ गए पनि सहज जीवनयापन गर्न सक्षम हुने धारणा व्यक्त गर्नुभयो।
    सम्मान कार्यक्रममा वडाको गौरव बढाउने विभिन्न व्यक्तित्वहरुलाई जनही १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो। सम्मानित हुनेमा शारीरिक सुगठन प्रतियोगिताका खेलाडी कृष्णसिंह शाही, मोर्डल पेन्टाथलन खेलाडी सोयवमान श्रेष्ठ तथा फिलिपिन्समा सम्पन्न अन्तर्राष्ट्रिय रनवे मोडलको तेस्रो संस्करणमा ‘सेकेण्ड वेस्ट रनवे मोडल युनिभर्स’ बन्न सफल रोनिस खड्गी रहेका छन्।

    यसैगरी, भदौ २४ गतेको आन्दोलनका क्रममा नयाँ सडकस्थित नेपाल वायुसेवा निगमको केन्द्रीय कार्यालय भवनमा आगलागी हुनबाट जोगाई आसपासको बस्ती सुरक्षित राख्न भूमिका खेलेका १५ जना स्थानीय युवालाई पनि विशेष सम्मान गरिएको थियो।

    कार्यक्रममा २०८१ सालको एसईई परीक्षा उत्तीर्ण गरेका ४० जना विद्यार्थीलाई सम्मान गरिएको थियो। उत्कृष्ट अङ्क प्राप्त गर्ने प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।
    सम्मान कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै