• TOKHA LIVE

    • ५ पुष २०८२, शनिबार १५:५८

    टोखा वडा ६ लाई बालमैत्री घोषणा गर्ने तयारी तीव्र, वडास्तरीय छलफल सम्पन्न

     

    टाेखा, काठमाडौं ५ पौष २०८२/
    बालबालिकाको सुरक्षित, सम्मानित र उज्यालो भविष्य सुनिश्चित गर्ने उद्देश्यसहित टोखा नगरपालिका वडा नं. ६ लाई बालमैत्री वडा घोषणा गर्ने तयारी तीव्र रूपमा अघि बढाइएको छ। यसैक्रममा शुक्रबार टाेखा नगरपालिका मा वडा नं. ६ र स्थानीय बाल अधिकार समितिसँग वडास्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ।

    टाेखा वडा ६ का अध्यक्ष शान्ता खनाल पौडेलको नेतृत्वमा सम्पन्न छलफल कार्यक्रममा स्थानीय सरोकारवालाहरू, जनप्रतिनिधि तथा बालअधिकारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा बालबालिकासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूमा केन्द्रित रहेर गम्भीर छलफल गरिएको थियो।
    छलफलमा अघिल्लो बैठकका निर्णयहरूको समीक्षा, बालसंरक्षणसम्बन्धी समसामयिक मुद्दा, तथा बालमैत्री स्थानीय शासन घोषणा प्रक्रियाको वर्तमान अवस्थाबारे विस्तृत रूपमा विचार–विमर्श गरिएको थियो। साथै, बालबालिकाको क्षेत्रमा क्रियाशील ५ वटा संस्थासँग सहकार्य गर्दै तथ्यांक संकलन गर्ने विषय र बालमैत्री वडा घोषणा सम्बन्धी प्रगति पनि प्रमुख एजेन्डाका रूपमा उठाइएको थियो।

    बालबालिकाका सवाललाई योजनाबद्ध ढंगले अघि बढाउन कार्ययोजना निर्माण र कार्यान्वयनबारे छलफल गरिएको जनाइएको छ।

    टोखा नगरपालिकाको स्थानीय बाल अधिकार समितिको आयोजनामा सम्पन्न उक्त विशेष छलफल नगर उपप्रमुख मुरारी तामाङको अध्यक्षता र आतिथ्यमा भएको हो। कार्यक्रममा विभिन्न बालअधिकारकर्मीहरूले नगर बाल अधिकार समितिको काम, कर्तव्य र अधिकारबारे आफ्ना धारणा राखेका थिए।

    कार्यक्रममा बोल्दै नगर उपप्रमुख मुरारी तामाङले टोखा नगरपालिकालाई समग्र रूपमा बालमैत्री नगर घोषणा गर्ने लक्ष्यसहित सबै वडामा बालमैत्री स्थानीय शासन कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो। उहाँले वडा नं. ६ ले बालविवाह, बालश्रम, शारीरिक तथा मानसिक हिंसा, बाल यौन दुर्व्यवहार रोकथाम, सडक बालबालिकाको उद्धार, संरक्षण र पुनःस्थापना लगायत ५१ सूचकहरूमध्ये अधिकांश सूचक पूरा गरिसकेको उल्लेख गर्दै वडा ६ छिट्टै बालमैत्री घोषणा हुने नजिक पुगेको बताउनुभयो।

    वडा अध्यक्ष शान्ता खनाल पौडेलले बाँकी रहेका केही सूचकहरू पनि छिट्टै पूरा गरी चालु आर्थिक वर्षभित्रै टोखा नगरपालिकाकै पहिलो बालमैत्री वडा घोषणा गर्न वडा ६ तयार रहेको बताउँदै, सबै बालबालिकाको हक, अधिकार र संरक्षण सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

    वडास्तरीय छलफल कार्यक्रममा नगर उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराई, शिक्षा तथा खेलकुद शाखा प्रमुख सिताराम कोइराला, डा. दीपेन्द्र श्रेष्ठ, नगर बाल संरक्षण समितिका सदस्यहरू, वडाका जनप्रतिनिधि, विद्यार्थीहरू तथा बालमैत्री स्थानीय शासनको क्षेत्रमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

     

    Facebook Comments

    छुटाउनुभयो कि? सबै