काठमाडौँ ५ पौष । नेवाः समाजको विवाह संस्कारसँग जोडिएको ‘ग्वय् छ्वयेगु’ अर्थात् सुपारीसहितका शुभ सामग्री राख्ने साइपाता बनाउने परम्परागत सीप संरक्षण र महिलाको आत्मनिर्भरताको लक्ष्यसहित काठमाडौँमा तालिम सञ्चालन गरिएको छ।
काठमाडौँ महानगरपालिका–२१ स्थित महिला दिदीबहिनी समूहको आयोजनामा, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको आर्थिक सहयोगमा १० दिने ‘ग्वय् छ्वयेगु ज्वलँ (साइपाता) बनाउने तालिम’ सञ्चालन भइरहेको छ। मंसिर २५ गतेदेखि सुरु भएको तालिममा विभिन्न स्थानबाट आएका ३५ जना महिलाहरू सहभागी छन्।
बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने तालिम काठमाडौँ–१२, बुद्धनारी ओनेमा भइरहेको छ। तालिमले नेवाः समुदायको मौलिक संस्कृतिलाई जगेर्ना गर्नुका साथै सहभागी महिलाहरूलाई व्यवहारिक सीप प्रदान गर्दै आत्मनिर्भर बन्ने अवसर दिएको आयोजकको भनाइ छ।
महिला दिदीबहिनी समूहले महिलालाई केन्द्रमा राखेर यस्ता शीपमूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ। संस्कृतिको संरक्षणसँगै रोजगारी र आत्मसम्मानको बाटो खोल्ने यो प्रयासले सहभागी महिलाहरूमा नयाँ आशा र आत्मविश्वास थपेको देखिन्छ।


