• TOKHA LIVE

    • २ पुष २०८२, बुधबार २०:४६

    टोखा नगरपालिकामा ‘श्रम डेस्क’ सञ्चालनमा

     

    काठमाडौँ, २ पुस / श्रमिकको सम्मान, सुरक्षा र अधिकारलाई केन्द्रमा राख्दै टोखा नगरपालिकाले ‘श्रम डेस्क’ स्थापना गरी सञ्चालनमा ल्याएको छ। नगरभित्र श्रम गर्ने हजारौँ श्रमिकका समस्या सुन्ने, समाधान खोज्ने र उनीहरूको हकहित सुनिश्चित गर्ने उद्देश्यका साथ मङ्गलबारदेखि यो सेवा सुरु गरिएको हो।

    टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले श्रम डेस्कको औपचारिक शुभारम्भ गर्दै श्रमिकमैत्री स्थानीय सरकार बनाउने नगरपालिकाको प्रतिबद्धता दोहोर्याउनुभयो। उहाँले श्रमिकको अधिकार संरक्षण, सम्मानजनक रोजगारी र सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न श्रम डेस्क महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो।

    नगरपालिकाले ‘श्रम डेस्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ अनुसार यो व्यवस्था लागू गरेको हो। प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईका अनुसार श्रम डेस्कमार्फत श्रमिकको पञ्जीकरण गरी परिचयपत्र वितरण, उजुरी तथा गुनासोको सुनुवाइ, श्रमिक र रोजगारदाताबीच सहकार्यको वातावरण निर्माण, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया तथा श्रम अनुगमन र निरीक्षण प्रणाली विकास गरिनेछ।

    टोखा नगरपालिकाले नगरभित्र रहेका विशेषगरी अनौपचारिक क्षेत्रका श्रमिकलाई श्रम डेस्कमा सम्पर्क गरी सूचीकृत हुन आग्रह गरेको छ। श्रम डेस्क स्थापनाले श्रमिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै विभिन्न श्रमिक संघ–संस्थाले टोखा नगरपालिकाको यस पहललाई प्रशंसनीय कदमका रूपमा स्वागत गरेका छन्।

    स्थानीय तहबाटै श्रमिकको आवाज सुन्ने र अधिकार सुनिश्चित गर्ने यो प्रयासले टोखालाई श्रमिकमैत्री नगरतर्फ एक कदम अघि बढाएको अनुभूति गराएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै