• TOKHA LIVE

    • २ पुष २०८२, बुधबार १४:५३

    टोखाका सार्वजनिक स्थल झलमल्ल ,चण्डेश्वरी, सपनतिर्थ ,गणेश पोखरी र भुतखेल चौरमा हाइ मास्ट लाइट जडान सम्पन्न

     

    टाेखा काठमाडौं २ पुस,२०८२/
    टोखाको सांस्कृतिक र धार्मिक पहिचान बोकेका सार्वजनिक स्थलहरू अब झन् सुरक्षित र झलमल्ल उज्याला बनेका छन्। टोखा नगरपालिका नगरप्रमुख प्रकाश अधिकारीको पहलमा चण्डेश्वरी, सपनतिर्थ ,गणेश पोखरी र भुतखेल चौरमा हाइ मास्ट लाइट जडानको काम सम्पन्न भएको छ।

    मुख्य सडकहरूमा स्मार्ट बत्ती जडान गरी सञ्चालनमा ल्याएको केही दिनमै नगरपालिकाले मन्दिर र खुला सार्वजनिक स्थलमा समेत उज्यालो विस्तार गरेको हो। नगरप्रमुख अधिकारीका अनुसार, नेपाल विद्युत प्राधिकरणको ३५ प्रतिशत प्राविधिक सहयोग र नगरपालिकाको ६५ प्रतिशत आर्थिक साझेदारीमा ५७१ थान स्मार्ट सडकबत्ती जडान भइसकेको छ। गत वर्ष मात्रै करिब ४ करोड ३८ लाख रुपैयाँको लागतमा हाइ मास्ट र स्मार्ट बत्ती जडान गरिएको उहाँले बताउनुभयो।

    सडक र सार्वजनिक स्थलहरूलाई दीर्घकालीन रूपमा सुरक्षित र दिगो बनाउने उद्देश्यले नगरपालिकाले विद्युत प्राधिकरणसँग सहकार्य गर्दै काम गरिरहेको छ। अब भित्री सडकहरूमा पनि स्मार्ट बत्ती विस्तार गर्ने योजना अघि बढाइएको छ।

    पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलनमा समेत ध्यान दिँदै नगरपालिकाले पार्क निर्माणलाई प्राथमिकता दिएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणको आर्थिक सहयोगमा टोखा २ र ६ मा गले पार्क र हातिचोक पार्क निर्माण कार्य सुरु भइसकेको छ। करिब ७ करोड लागतमा निर्माण हुन लागेको यी पार्कहरूमा हर्बल पार्कदेखि पानीपोखरीसम्म रहनेछन्, जसले टोखाको सौन्दर्य थप बढाउने अपेक्षा गरिएको छ।

    हालसम्म करिब ८५ प्रतिशत पूर्वाधार विकास सम्पन्न गरिसकेको नगरपालिकाले वडा नं. १ मा निर्माण गरिएको चिल्ड्रेन पार्क छिट्टै पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको छ। साथै, आगामी पाँच वर्षभित्र भूतखेल चौरमा पनि अत्याधुनिक पार्क निर्माणका लागि काठमाडौं उपत्यका विकास प्राधिकरणसँग सहकार्य गर्दै योजना अघि बढाइने नगरप्रमुख अधिकारीले जानकारी दिनुभयो।

    स्मार्ट सडकबत्ती जडान गरिएका क्षेत्रहरू

    सामाखुशी चोकदेखि वडा नं. ३ कार्यालय अगाडीसम्म

    गणेशस्थान मन्दिरदेखि वडा नं. १ को मालुङ्ग चोक–गैहीगाउँ चोकसम्म

    नयाँ बसपार्क अगाडिको विष्णुमती करिडोरदेखि भत्केको पुल–चख्खु चोकसम्म

    गोगंबु चोकदेखि जालपाचोक हुँदै धनेश्वरसम्म

    साउथ वेस्टर्न स्कुल अगाडीदेखि दाहाल गौंडा–भगवती मन्दिर–देउराली जनता फर्मास्यूटिकल्ससम्म

    दाहाल गौंडादेखि ग्रीनल्याण्ड चोकसम्म

    उज्यालो सडक, सुरक्षित सार्वजनिक स्थल र हरियाली पार्कमार्फत टोखा बिस्तारै व्यवस्थित, सुन्दर र बस्नयोग्य शहरतर्फ अघि बढिरहेको स्थानीयवासीको अनुभूति छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै