विभिन्न क्षेत्रमा योगदान पुर्याउने १५ स्रष्टा सम्मानित
नविना श्रेष्ठ
काठमाडौँ २९ मंसिर २०८२/
काठमाडौँ महानगरपालिकाको ३१ औँ महानगर दिवस विविध कार्यक्रमसहित टुँडिखेलमा भव्य रूपमा सम्पन्न भएको छ। दिवसका अवसरमा खेलकुद, साहित्य, शिक्षा, कला, सिर्जना र आमसञ्चार क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउने १५ जना स्रष्टालाई सम्मान गरिएको छ।

समारोहका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ महानगरपालिकाले नागरिकको अपेक्षाअनुसार विकास र सेवा प्रवाहमा अग्रणी भूमिका खेलिरहेको विश्वास व्यक्त गर्नुभयो। उहाँले प्राकृतिक तथा मानव सिर्जित सम्पदाको संरक्षण, हरियाली प्रवर्द्धन, एकीकृत सहरी विकास र विद्युतीय सेवाको विस्तार महानगरपालिकाका उदाहरणीय काम भएको उल्लेख गर्नुभयो।
‘एकल सेवा केन्द्र, विद्युतीय शासन र गुनासो सुनुवाइ प्रणालीले स्थानीय सरकार नागरिकको आँगनमै पुगेको सन्देश दिएको छ,’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘यी प्रयासले सेवा नागरिकमैत्री, उत्तरदायी र पारदर्शी बनेको छ।’
समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसहित उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले हालसम्म भएका उपलब्धिहरू तथ्यांकसहित प्रस्तुत गर्दै सार्वजनिक जग्गा संरक्षण, सडक स्तरोन्नति, सार्वजनिक खरिदमा बचत, सामुदायिक शिक्षामा सुधार, जोखिममा परेका बालबालिकाको उद्धार तथा विद्युतीय कार्यालय प्रणालीजस्ता कामलाई प्रमुख उपलब्धिका रूपमा उल्लेख गर्नुभयो।
‘काठमाडौँको पहिचान जोगाउँदै उत्तरदायी, मितव्ययी र पारदर्शी स्थानीय सरकार निर्माणमा हामी प्रतिबद्ध छौँ,’ उहाँले भन्नुभयो।

उपप्रमुख सुनिता डंगोलले महानगर घोषणा भएको दिनलाई स्थानीय स्वशासनको ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै असल अभ्यासलाई संस्थागत गर्दै नागरिकको अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
समारोहमा राष्ट्रपति पौडेल, प्रमुख शाह र उपप्रमुख डंगोलले विभिन्न क्षेत्रका १५ जना विशिष्ट व्यक्तित्वलाई जनही १ लाख रुपैयाँ नगदसहित सम्मान गर्नुभयो। सम्मानित हुनेमा सांस्कृतिक अध्येता प्रा. डा. चुन्दा बज्राचार्य, साहित्यकार ध्रुवचन्द्र गौतम, पत्रकार विजयकुमार पाण्डे, शिक्षाविद् प्रा. डा. केदारभक्त माथेमा, कलाकार बसुन्धरा भुषाल, क्रिकेटर सोमपाल कामी, महिला भलिबल कप्तान जेनिशा विश्वकर्मालगायत हुनुहुन्छ।

त्यसैगरी, महानगरको गरिमा अभिवृद्धिमा योगदान पुर्याउने जनप्रतिनिधिहरूलाई स्थानीय सेवा गौरव पुरस्कार र जनकमान श्रेष्ठ स्वशासन पुरस्कारबाट पनि सम्मान गरिएको छ।

समारोहमा प्रथम जननिर्वाचित नगर प्रमुख जनकमान श्रेष्ठ सुशासन पुरस्कार–२०८२ दुई जना जनप्रतिनिधिलाई जनही एक लाख रुपैयाँ नगदसहित प्रदान गरियो। सुशासन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको भन्दै वडा नम्बर १० का सदस्य सतिश तण्डुकार र वडा नम्बर २१ की सदस्य रीना नेपाली सम्मानित हुनुभयो।
त्यस्तै, निरन्तर साधना, धैर्य र सेवाको मूल्याङ्कन गर्दै साधना सम्मान पुरस्कार–२०८२ चार जना जनप्रतिनिधिलाई जनही एक लाख रुपैयाँसहित प्रदान गरियो। यसबाट वडा नम्बर ४ की सदस्य सरु अधिकारी, वडा नम्बर २० की सदस्य शोभा मानन्धर, वडा नम्बर २६ की सदस्य शान्ता महर्जन र वडा नम्बर २९ की सदस्य संगीता पुजारी सम्मानित हुनुभयो।
महानगरपालिकाको गरिमा अभिवृद्धि र स्थानीय सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै स्थानीय सेवा गौरव पुरस्कार–२०८२ सात जना जनप्रतिनिधिलाई जनही एक लाख रुपैयाँसहित प्रदान गरियो। सम्मानित हुनेमा वडा नम्बर ८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा नम्बर १२ का अध्यक्ष एवं वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, वडा नम्बर १९ का अध्यक्ष एवं पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ, वडा नम्बर २५ का अध्यक्ष राजेश डंगोल, वडा नम्बर ३ का सदस्य केशवप्रसाद श्रेष्ठ, वडा नम्बर १८ का सदस्य हेमज्योती शाक्य र वडा नम्बर ३२ का सदस्य हरिबहादुर बस्नेत रहनुभएको छ।
दिवसका अवसरमा सहरी विकास, विपद् व्यवस्थापन, सरसफाइ तथा नगर प्रहरीसँग सम्बन्धित सवारी साधन र उपकरणको प्रदर्शनी गरिएको थियो। सबै वडाबाट परम्परागत बाजा, झाँकी र नृत्य प्रस्तुत गरिँदा समारोह सांस्कृतिक र जीवन्त बनेको थियो।
वि.सं. २०५२ मंसिर २९ गते काठमाडौँ नगरलाई महानगर घोषणा गरिएको दिनको स्मरणमा हरेक वर्ष महानगर दिवस मनाइँदै आएको छ। ३१ औँ महानगर दिवसले काठमाडौँको पहिचान, उपलब्धि र भविष्यप्रतिको साझा आशालाई अझ सशक्त बनाएको छ।



