• TOKHA LIVE

    • ३० मंसिर २०८२, सोमबार १०:०७

    काठमाडौं महानगरपालिकाका परम्परागत बाजाका २३५ गुरु सम्मानित

     

    काठमाडौं, मंसिर २९ ।
    काठमाडौँ महानगरपालिकाले परम्परागत बाजा संस्कृतिलाई जीवन्त राख्दै आएका २३५ जना बाजा गुरुहरूलाई नगदसहित सम्मान गरेको छ। ३१ औँ महानगर दिवस २०८२ का अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा प्रत्येक गुरुलाई जनही ३० हजार रुपैयाँ प्रदान गरिएको हो।

    महानगरकी उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत तथा कार्यपालिका सदस्यहरूले गुरुहरूलाई सम्मान गर्दै परम्परागत बादन संस्कृतिको संरक्षणप्रति महानगरको दृढ प्रतिबद्धता दोहोर्‍याए।

    सम्मानित गुरुहरू विभिन्न समुदाय र संघसंस्थाबाट सिफारिस भई छनोट भएका हुन्। ज्यापु महागुथि नेपाः, गुंलाबाजं व्यवस्थापन तथा संरक्षण संघ, नेपाल खड्गी सेवा समिति, नेपाल राष्ट्रिय खड्गी समाज, केन्द्रीय मानन्धर संघलगायत संस्थाबाट आएका गुरुहरू कार्यक्रममा सहभागी थिए।

    उपप्रमुख डंगोलले परम्परा जोगाउने काम तत्काल देखिने उपलब्धिभन्दा पनि दीर्घकालीन र अमूल्य हुने बताउनुभयो। “आज युवापुस्तामा बाजा र संस्कृतिप्रतिको चासो बढ्दै गएको छ, यसले संस्कार पुस्तान्तरण हुने आशा जगाएको छ,” उहाँले भन्नुभयो, “निस्वार्थ भावले संस्कृति बचाइरहनु भएका गुरुहरूको योगदान शब्द र नगदले मात्र मापन गर्न सकिँदैन।”

    सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले बाजा गुरुहरूको सम्मानले अमूर्त सम्पदाको संरक्षणमा थप ऊर्जा दिने विश्वास व्यक्त गर्नुभयो। वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले गुरुहरूको त्यागको चर्चा गर्दै महानगर सधैं उनीहरूप्रति कृतज्ञ रहेको बताउनुभयो भने वडा नं. १६ की अध्यक्ष रोजिना श्रेष्ठले गुरुहरूको सम्मानबाट महानगरले गौरव महसुस गरेको धारणा राख्नुभयो।

    कार्यक्रममा सहभागी संघसंस्थाका प्रतिनिधिहरूले महानगरको पहलप्रति प्रशंसा गर्दै बाजागाजा संरक्षण, प्रशिक्षण र सांस्कृतिक गतिविधिमा अझ सशक्त अभिभावकत्वको अपेक्षा व्यक्त गरे।

    महानगर दिवसका अवसरमा आज विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ। नारायण चौरमा रैथाने मौलिक खाद्य स्वच्छता मेला सञ्चालन गरिएको छ भने मैत्रीपूर्ण फुटबल खेल पनि सम्पन्न भएको छ। २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरलाई महानगर घोषणा गरिएको सम्झनामा हरेक वर्ष यही दिन महानगर दिवस मनाइँदै आएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै