• TOKHA LIVE

    • २८ मंसिर २०८२, शनिबार ०४:५१

    नेकपा एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै

     

    काठमाडौँ, २७ मंसिर २०८२
    नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने उद्घाटन समारोहलाई ऐतिहासिक र भव्य बनाउने गरी सबै तयारी पूरा गरिएको छ।

    एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख नेता–कार्यकर्ता र समर्थक सहभागी हुने अपेक्षा गरिएको छ। समारोहमा नेपालको विविधता र एकताको सन्देश झल्किने गरी २०० भन्दा बढी कला र सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ।

    उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत १६ वटा विभिन्न राजनीतिक दलका शीर्ष नेता र प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ।

    महाधिवेशन जनपरिचालनका संयोजक तथा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईका अनुसार मित्रराष्ट्रका कूटनीतिक नियोग तथा विदेशी राजनीतिक दलहरूबाट शुभकामना सन्देश प्राप्त भइरहेका छन्, जसले महाधिवेशनको अन्तर्राष्ट्रिय महत्त्वसमेत देखाएको छ।

    महाधिवेशनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन २४ वटा जनसङ्गठनको सहभागितामा ५०० भन्दा बढी स्वयंसेवक ड्रेसकोडसहित खटाइनेछ। साथै, करिब १० हजार तालिमप्राप्त स्वयंसेवक जनसेवामा परिचालन गरिने तयारी गरिएको छ।

    उद्घाटन मञ्चलाई विशेष आकर्षण दिन लिच्छविकालीन राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायण मन्दिरलाई केन्द्रविन्दुमा राखेर उपत्यकाका प्रमुख मन्दिरहरू झल्किने गरी कलात्मक मञ्च निर्माण गरिएको छ। टाढासम्मबाट स्पष्ट देख्न र सुन्न सकिने गरी ३० फिट अग्ला दुईवटा एलइडी स्क्रिन र ११५ वटा उच्चस्तरीय साउन्ड सिस्टम जडान गरिएको छ।

    मञ्चअगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद तथा कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ। कलाकारहरूले मञ्चमै राष्ट्रिय एकता झल्काउने सांगीतिक प्रस्तुति दिनेछन्।

    उद्घाटनका क्रममा मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा राखिएको विद्युतीय पाला पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटमार्फत बालेर महाधिवेशनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ। ११औँ महाधिवेशनको प्रतीकस्वरूप ११ वटा पार्टी झन्डामध्ये १० वटा पहिल्यै फहराइने र एउटा झन्डा उद्घाटनसँगै रिमोटबाट फहराइनेछ।

    सहभागीका सवारी साधनका लागि कोटेश्वरदेखि गट्ठाघरसम्म आवतजावतको व्यवस्था गरिएको छ। गट्ठाघरस्थित नागरिक उड्डयन प्राधिकरणको खाली चौर र जगातीस्थित भाइरल प्लानिङ क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ। उद्घाटनअघि गट्ठाघर र जगातीबाट भव्य र्‍यालीसहित सल्लाघारी प्रवेश गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

    एमालेको ११औँ महाधिवेशनलाई एकता, अनुशासन र उत्सवको सन्देश बोकेको ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै