• TOKHA LIVE

    • २४ मंसिर २०८२, मंगलवार १९:१५

    गहनापोखरी पुनःनिर्माण सुरु : हाँडीगाउँलाई पुरानो गौरवमा फर्काउने लक्ष्य,के–के बन्नेछन् ?

     

    २०८२ मंसिर २३ काठमाडौं ।
    काठमाडौँ महानगरपालिका वडा ५ मा रहेको ऐतिहासिक सम्पदा गहनापोखरी पुनःनिर्माणको काम औपचारिक रूपमा सुरु गरिएको छ। सोमबार वडाध्यक्षसहित जनप्रतिनिधिहरूले प्राचीन हाँडीगाउँमा शिलान्यास गर्दै पुनःनिर्माणको यात्रालाई नयाँ अध्यायमा प्रवेश गराएका हुन्।

    यो पोखरीको पुनःनिर्माण सुजन राज जेभीले गर्नेछ भने निर्माण लागत ५ करोड २० लाख ५ हजार ५ सय २७ रुपैयाँ रकम तय गरिएको छ। काम २०७३ असोज ३० भित्र सम्पन्न गर्ने लक्ष्य वडाध्यक्ष वीरेन्द्र प्रजापतीले सार्वजनिक गरेका छन्।

    प्रजापतीका अनुसार २०५७ सालमा पुनर्निर्माण भएको भए पनि त्यसबेला पोखरीले आफ्नो मौलिक रूप–रंग जोगाउन सकेन। त्यसैले यसपटक कामलाई “केवल निर्माण होइन, सांस्कृतिक आत्माको पुनर्जीवन” का रूपमा अघि बढाइएको छ।
    “हाँडीगाउँलाई प्राचीन शैलीमा फर्काउने गुरुयोजना अन्तर्गत गहनापोखरी हाम्रो मुख्य आधार हो,” प्रजापती भन्छन्, “यसपटक मौलिकता, परम्परा र पहिचान कायम गर्दै अघि बढिरहेका छौँ।”

    शिलान्यासभन्दा अघि पूजापाठ र क्षमा पूजा गरेर परम्परागत ढंगले पुनःनिर्माणको थालनी गरिएको थियो।

    के–के बन्नेछन् ?

    पुनःनिर्माणपछि गहनापोखरी वरिपरि सुव्यवस्थित संरचनाहरू तयार हुनेछन्

    १३ हजार वर्गफिटमा पुनःनिर्माण हुने पोखरी

    ६–८ फिट चौडाइको पैदलमार्ग

    बाहिरी भागमा कालोपत्र सडक

    दक्षिणतर्फ १०० वर्गफिटको ३ कवलको फल्चा

    उत्तरतर्फ ३१७ वर्गफिटमा ९ कवलको फल्चा

    दक्षिण–पश्चिममा प्रहरी विट

    ५९० वर्गफिटको भवन तल्लोतलामा पर्यटक सूचना केन्द्र, माथिल्लो तलामा पुस्तकालय

    गहनापोखरीको रोचक कथा

    स्थानीय किंवदन्तीअनुसार गहनापोखरी कुनैबेला आगो निस्किरहने तलाउ थियो। त्यहाँबाट सुनको पेटिका प्रकट हुने गर्थ्यो। तर, पेटिका लिन खोज्ने जो–कसैलाई पोखरीले निगलिदिन्थ्यो उनी फर्कनै सक्दैनथे।
    मानिन्छ, त्यो पेटिकामा रहेको सुन भविष्यका बुद्ध बोधिसत्व मैत्रेयको मुकुटको सुन थियो, जसलाई नागहरूले रक्षण गरिराखेका थिए।
    त्यही कारण यहाँ गहना खोज्ने जात्रा चलनमा आएको इतिहास स्थानीयहरू स्मरण गर्छन्।

    गहनापोखरी अहिले केवल पोखरी मात्र होइन—हाँडीगाउँको इतिहास, संस्कृति र मिथक एकै ठाउँमा बास बस्ने जीवित स्मारकका रूपमा पुनर्जीवित हुँदैछ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै