काठमाडौँ, मंसिर १९ /
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ज्यापू दिवस केवल उत्सव मात्र नभई सहअस्तित्व, पहिचान र समृद्धिको गहिरो सन्देश बोकेको पर्व भएको बताउनुभएको छ।
२२ औँ ज्यापू दिवसको अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले परम्परागत संस्कृति र मेहनतप्रतिको ज्यापू समुदायको सम्मानलाई यो पर्वले विशेष रूपमा अभिव्यक्त गर्ने बताउनुभयो।
उहाँका अनुसार, यमरी केवल मिठाई होइन, प्रकृति, श्रम र समृद्धिप्रति ज्यापूहरूको समर्पण झल्काउने प्रतीक हो। “माटोले दिएको अन्नप्रति कृतज्ञता प्रकट गर्ने हाम्रो मौलिक संस्कार हराउन नदिऔँ,” उपप्रमुख डंगोलले भन्नुभयो।
उहाँले झाँकी, बाद्यबादन, रहनसहन जस्ता परम्परागत अभ्यासलाई केवल सांस्कृतिक गतिविधि नभई समाज व्यवस्थापनका महत्वपूर्ण सूत्रका रूपमा बुझ्नुपर्ने धारणा राख्नुभयो।
उद्योग–उद्यमसँग जोड्दै उहाँले थप भन्नुभयो- “यस वर्ष फलाएको धानबाट बनेको परिकार अन्नपूर्णलाई चढाउने परम्परा दर्शनले भरिएको छ। वर्षभरि अन्नको अभाव नहोस् भन्ने कामनामा माटोसँगको हाम्रो नाता झन् गहिरिन्छ।”
कार्यक्रममा प्रधानमन्त्री सुशिला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याललगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो। ज्यापू संस्कृतिको प्रवर्धनमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको थियो।
यसअघि नरःदे (हाँडीगाउँ)बाट सुरु भएको सांस्कृतिक र्याली उपप्रमुख डंगोलले उद्घाटन गर्नुभएको थियो। र्यालीमा महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, कार्यपालिका सदस्य, ज्यापू संस्कृतिक विकास कोषका पदाधिकारी र वडा ५ को सांस्कृतिक झाँकीसहितको उत्साहपूर्ण सहभागिता थियो।
यो वर्षको ज्यापू दिवस वसन्तपुरमा झन् रंगीन र सांस्कृतिक रूपमा प्रभावशाली बनेको अनुभव सहभागीहरूले व्यक्त गरेका छन्।

