काठमाडौँ, १ मङ्सिरः
वसन्तपुरस्थित जीवित देवी श्रीकुमारीको वासस्थान (कुमारी घर)बाट विसं २०५६ तिर चोरी भएको तोरण आगामी शुक्रबार पुनःस्थापना गरिने भएको छ। संयुक्त राज्य बेलायतको बाराकाट सङ्ग्रहालयमा फेला पारी नेपाल फिर्ता ल्याइएपछि उक्त तोरण हाल राष्ट्रिय सङ्ग्रहालय, छाउनीमा सुरक्षित राखिएको थियो।
तोरण पुनःस्थापनाका लागि काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा आज बसेको साझेदार कार्यालयका अधिकारीहरूको बैठकले निर्णय सुनाएको हो। नेपाल संवत्को दोस्रो महिनाको पहिलो दिन — थिंलाथ्व पारु — मा वडा नम्बर २३ को संयोजन तथा सरोकारवाला समुदायको सक्रिय सहभागितामा तोरण आफ्नो मूल स्थानमै जडान गरिने जनाइएको छ।
उपप्रमुख डङ्गोलले समुदायमै रहेर सम्पदाको सुरक्षा हुने तर्क अघि सार्दै भन्नुभयो—
“पुर्ख्यौली सिर्जना समुदायमा असुरक्षित भन्ने सोच छोड्नुपर्छ। कलाकृति सङ्ग्रहालयमा थन्काएर होइन, समुदायकै जिम्मामा आफ्नो ठाउँमा जोगिनुपर्छ। कुमारी घरको तोरणको सुरक्षामा सबै चनाखो हुनुपर्छ। अहिले समुदाय सचेत छ, वसन्तपुर क्षेत्र पनि सुरक्षा निकायको विशेष निगरानीमै छ, त्यसैले तोरणलाई आफ्नै ठाउँमा राख्न कुनै डर छैन।”
वडा नम्बर २३ का अध्यक्ष तथा महानगरको विधायन समितिका संयोजक मचाराजा महर्जनले कुमारी घरको गरिमा जोगाउन वडा कार्यालयले आवश्यक सबै स्रोत, साधन र जनशक्ति परिचालन गर्ने प्रतिबद्धता जनाउनुभयो।
कुमारी घरका संरक्षक गौतम शाक्यका अनुसार तीनवटै तोरण २०५६–०५७ सालतिर क्रमशः चोरी भएका हुन्।
“साँझको समय पारेर चोरहरूले ट्याक्सीमा राखेर लगेछन्। निकाल्दै गरेको देखेर सोध्नेलाई ‘मर्मत गर्न लैजाने’ भनेर छलिएको रहेछ,” शाक्यले बताउनुभयो। चोरी भएपछि तत्कालै पुरातत्व विभाग र नेपाल प्रहरीमा जानकारी दिइएको थियो।
चोरी भएका कुमारी वहालको तोरण तथा मञ्जुश्री नकःमहाविहारका दाताका मूर्ति २०७८ चैत ४ गते (सन् २०२२ मार्च १८) बेलायतस्थित नेपाल दूतावासलाई हस्तान्तरण गरिएको थियो। त्यसपछि नेपाल ल्याई छाउनी सङ्ग्रहालयमा राखिएको हो।
चोरी वा हराइएका सांस्कृतिक सम्पदाहरू फिर्ता ल्याउन सन् १९७० को युनेस्को महासन्धिको व्यवस्था प्रयोग हुँदै आएको छ। प्राचीन स्मारक ऐन २०१३ अनुसार १०० वर्ष पूरा गरेका संरचना तथा कलाकृतिहरूलाई राष्ट्रिय सम्पदा मानिन्छ।

