काठमाडौं, कार्तिक २३/
बेलायतमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षा कम्पनी जेनेस सलुशन (Genese Solution) सँगको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिकाले शुक्रबार नवप्रवर्तन केन्द्र (Innovation Center) सञ्चालनमा ल्याएको छ। नगरपालिकाको यो पहल सम्भवत: नेपालकै पहिलो नगरस्तरीय इनोभेशन सेन्टर मानिएको छ।
यो केन्द्रमार्फत स्थानीय युवाहरूका लागि सूचना प्रविधि (IT) सम्बन्धी सीप अभिवृद्धि, तालिम र रोजगारीका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रमको दोस्रो चरण अन्तर्गत शुक्रबार स्थानीय युवाका लागि आईटी रोजगारी कार्यशाला सम्पन्न गरिएको हो।
जेनेस सलुशनका कार्यकारी निर्देशक भीम ढकालले कार्यक्रममा युवाहरूलाई सक्रिय सहभागिताको आह्वान गर्दै भने,“आईटी साक्षरता अहिले सबै उमेर समूहका मानिसका लागि आवश्यक भइसकेको छ। स्थानीय युवाहरूले यस अवसरलाई आफ्नो भविष्य निर्माणको आधार बनाउनुपर्छ।”
उक्त कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले भने,“डिजिटल शासनमा रहेको खाडल हटाउन सके हजारौं रोजगारी सिर्जना गर्न सकिन्छ। यो सेन्टरले युवाहरूलाई उद्योगसँग मेल खाने सीप प्रदान गर्दै दिगो रोजगारीतर्फको बाटो खोल्नेछ।”
उनका अनुसार, सेन्टरमार्फत युवाहरूलाई AWS, Microsoft Azure र Google Cloud का अन्तर्राष्ट्रिय प्रमाणपत्र कोर्समा जोड्ने र प्रत्यक्ष रूपमा आईटी रोजगारी बजारमा प्रवेश दिलाउने योजना रहेको छ।
नगर प्रमुख उपेन्द्र कार्कीले भने, “हामी कागेश्वरी मनोहरा नगरपालिकालाई देशकै ‘आईटी हब’ बनाउने दिशामा अघि बढिरहेका छौं। विद्यार्थीले कक्षा ९ देखि नै सूचना प्रविधि पढ्न सक्ने वातावरण बनाएका छौं, ताकि उनीहरूले ‘पढ्दै कमाउने’ अवसर पाउन्।”
नगरपालिकाको वडा नं. ६ का अध्यक्ष प्रकाश फुयाँलले भने,“धेरै युवा रोजगारी नपाएर विदेशिन बाध्य छन्। अब समुदायमै सीप सिकेर रोजगारी पाउने बाटो खुलेको छ, जसको श्रेय जेनेस सलुशनलाई जान्छ।”
गत अगस्ट महिनामा जेनेस सलुशन र नगरपालिकाबीच डिजिटल साक्षरता र कार्यस्थल तत्परता विकास गर्ने उद्देश्यले समझदारीपत्र (MoU) हस्ताक्षर भएको थियो। अहिले सम्म करिब ७० जना युवाहरू तालिममा सहभागी भइसकेका छन्।
जेनेस सलुशनका कार्यालयहरू नेपाल, बंगलादेश, नाइजेरिया, फिनल्याण्डसहित १० भन्दा बढी देशमा रहेका छन्। कम्पनीले क्लाउड कम्प्युटिङ, डेटा एनालिटिक्स, कृत्रिम बुद्धिमत्ता (AI) र साइबर सुरक्षा का क्षेत्रमा विश्वव्यापी सेवा पुर्याउँदै आएको छ।



