टोखा, काठमाडौँ १७ कार्तिक / हराएको ब्रह्मा मूर्ति दशौँ वर्षपछि पुनः आफ्नै आसनमा फर्काइएको छ। काठमाडौँ महानगरपालिका–८ ले प्रहरी संरक्षणमा रहेको उक्त मूर्तिलाई मन्दिर पुनः उत्खनन गरी मूल स्थानमै पुनःस्थापना गरेको हो।
वडाध्यक्ष आशामान संगतका अनुसार मन्दिर हराएको करिब १ सय वर्षभन्दा धेरै भइसकेको थियो। मन्दिर रहेको ठाउँ वर्षौंदेखि झाडीले ढाकिएको थियो। पुरातत्व विभागको सहयोगमा गरिएको उत्खननपछि मन्दिरको संरचना फेला परेको र अध्ययनले यसको छैटौँदेखि सातौँ शताब्दीको बीचमा निर्माण भएको अनुमान गरेको वडाध्यक्षले बताए।
मूर्ति हराउनेबारे विभिन्न जनश्रुति प्रचलित छन्। वडाध्यक्ष संगतका अनुसार, “एकथरीको भनाइ छ- चोरहरूले मूर्ति चोरी गरेर लैजान नसकेपछि धोबी खोलामा फालेका थिए। अर्को भनाइ अनुसार तिलगंगा क्षेत्रतिर फालिएको थियो। जता फाले पनि, करिब २०३६ देखि २०३८ सालको बीचमा आसनबाट मूर्ति चोरी भएको हो,” उनले पाका स्थानीयहरूको भनाइ उद्धृत गर्दै बताए।
उनका अनुसार मूर्ति पछि प्रहरीद्वारा फेला पारिएको र प्रहरी कम्पाउन्डमा सुरक्षित राखिएको तथ्य पुष्टि भएको छ। त्यसै मूर्तिलाई अहिले मन्दिर पुनःस्थापना स्थलमा विधिपूर्वक फिर्ता राखिएको हो।
स्थानीय बासिन्दाहरूले लामो समयपछि आफ्नो साँस्कृतिक सम्पदा पुनःस्थापना भएकोमा खुसी व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, यो पुनःस्थापना केवल मूर्तिको मात्र होइन, इतिहास, आस्था र पहिचानको पुनरागमन हो।

