• TOKHA LIVE

    • १८ कार्तिक २०८२, सोमबार २१:३३

    उपेन्द्र कार्की कागेश्वरी मनोहरा नगरपालिकाबाट UCLG ASPAC परिषद् सदस्यमा निर्वाचित

    काठमाडौँ, १७ कात्तिक २०८२ । कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की एशिया–प्रशान्त क्षेत्रका स्थानीय सरकारहरूको साझा संस्था संयुक्त शहरहरू तथा स्थानीय सरकारहरू एशिया–प्रशान्त (UCLG ASPAC) को परिषद् सदस्यमा निर्वाचित भएका छन्।

    दक्षिण कोरियाको गोयाङ विशेष सहरमा सम्पन्न १०औँ UCLG ASPAC सम्मेलनमा सम्पन्न निर्वाचनबाट कार्कीले नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै २०२५–२०२७ कार्यकालका लागि यो प्रतिष्ठित पद हासिल गरेका हुन्।

    संस्थाकी महासचिव डा. बर्नाडिया इरावाति चन्द्रदेवी ले पठाएको बधाई सन्देशमा नगरप्रमुख कार्कीको चयनप्रति खुसी व्यक्त गर्दै लेखेकी छन्- “कागेश्वरी मनोहरा नगरपालिकाको अनुभव, सीप र दृष्टिकोणले UCLG ASPAC को कार्यमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ र यस क्षेत्रको भविष्य निर्माणमा सहयोगी हुनेछ।”

    उनले थप लेखेकी छन्- “यो चयन दक्षिण र दक्षिण–पश्चिम एशियाका नगरहरूले कागेश्वरी मनोहराप्रति देखाएको विश्वास र भरोसाको प्रतीक हो। परिषद् सदस्यका रूपमा नगरपालिकाले नीतिगत निर्णयमा प्रभाव पार्ने, सकारात्मक परिवर्तन ल्याउने र स्थानीय सरकारहरूको क्षमता सुदृढ पार्ने अवसर पाउनेछ।”

    UCLG ASPAC विश्वकै ठूलो स्थानीय सरकारहरूको सञ्जाल United Cities and Local Governments (UCLG) को एशिया–प्रशान्त शाखा हो, जसले क्षेत्रीय स्तरमा दिगो विकास, सहकार्य र स्थानीय सरकारहरूको सशक्तिकरणका लागि काम गर्दै आएको छ।

    नगरप्रमुख कार्कीको यो चयनले नेपालको स्थानीय शासनको अन्तर्राष्ट्रिय उपस्थितिलाई थप मजबुत बनाएको बताइन्छ।
    नगरप्रमुख कार्कीले संक्षिप्त प्रतिक्रिया दिँदै भने “यो हाम्रो नगर मात्र होइन, सम्पूर्ण नेपालको गौरव हो। अब हामीले विश्व समुदायमा नेपालको स्थानीय सरकारहरूको सशक्त आवाज पुगोस् भन्ने लक्ष्य राखेका छौं।”

    यसैबीच, कागेश्वरी मनोहरा नगरपालिकाले एक बिज्ञप्ती  जारी गर्दै नगरप्रमुख उपेन्द्र कार्कीको सफल निर्वाचित भएकोमा बधाई व्यक्त गरेको छ।  बिज्ञप्तिमा भनिएको छ। “दक्षिण र दक्षिणपश्चिम एशियाका सदस्यहरूले नगरप्रमुख कार्कीको नेतृत्वमाथि राखेको विश्वासले कागेश्वरी मनोहराको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा थप उचाइमा पुर्‍याएको छ। मेयर ज्यूको अनुभव र दूरदृष्टिले UCLG ASPAC को कार्य र समग्र दिगो विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेमा हामी पूर्ण विश्वस्त छौं।”नगरपालिकाले यस गौरवपूर्ण यात्रामा सम्पूर्ण नगरवासी, कर्मचारी र सहयोगीहरूलाई धन्यवाद दिंदै आगामी दिनमा अझ प्रभावकारी सहकार्यका लागि अपील गरेको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    छुटाउनुभयो कि? सबै