काठमाडौँ, १५ कात्तिक / प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको निर्वाचनलाई सफल बनाउन सबैपक्षको साथ र सहयोग अत्यावश्यक रहेको बताउनुभएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग मुलुकको राजनीतिक अवस्था, निर्वाचनको तयारी र सरकारका काम–कारबाहीसम्बन्धी विषयमा छलफल गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो।
प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि आवश्यक वातावरण सिर्जना गर्न सरकारका तर्फबाट अधिकतम प्रयास भइरहेको र हालसम्म परिस्थितिमा सकारात्मक परिवर्तन देखिएको जानकारी दिनुभयो। उहाँले राजनीतिक दलबीच निरन्तर संवाद र समझदारीका प्रयास जारी रहेको पनि बताउनुभयो।
“सबैलाई विश्वासमा लिएर निर्वाचन सफल पार्ने र त्यसपछि नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने हाम्रो उद्देश्य हो,” प्रधानमन्त्री कार्कीले भन्नुभयो।
सुशासन कायम राख्दै निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख लक्ष्य भएको उल्लेख गर्दै उहाँले राजनीतिक दलहरूलाई निषेध नभई उत्साहपूर्वक सहभागिताका लागि आह्वान गर्नुभयो। “म असहज अवस्थामा सरकारको जिम्मेवारीमा आएकी हुँ, तर आलोचनाबाट विचलित हुने छैन,” प्रधानमन्त्री कार्कीको भनाइ थियो।
उक्त छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थिति थियो।

