काठमाडौँ, ८ कात्तिकः काठमाडौँ महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी तथा परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा उपयोग गर्ने उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ।
कामपाको शहरी योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोलाका अनुसार, लामो समयसम्म विभिन्न क्षेत्रमा काम गरेर अनुभव हासिल गरेका नागरिकलाई अवकाशपश्चात् पनि समाज र देश विकासमा योगदान दिन सक्ने अवसर प्रदान गर्न यो कार्यक्रम ल्याइएको हो।
बास्तोला भन्छन्, “तपाईंको उमेर ४५ वर्ष पूरा भएको छ ? जागिर वा व्यवसायबाट अवकाश लिनुभएको छ ? अब बिश्रामभन्दा पनि समाजका लागि केही गर्न चाहनुहुन्छ भने — आउनुहोस्, सँगसँगै महानगरको विकासमा हातेमालो गरौँ।”
कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, सहरी विकास र सम्पदा संरक्षणजस्ता क्षेत्रमा कामपासँग मिलेर स्वयंसेवी रुपमा काम गर्न सकिनेछ।
महानगरले यसका लागि ‘कामपा–सिल्भर–भोलिन्टियर–कार्यविधि’ जारी गरी आवेदन आह्वान गरेको छ। योग्यता पुगेका इच्छुक नागरिकले अनलाइन लिंकमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
कामपाका अनुसार, यो कार्यक्रमले एकातिर परिपक्व नागरिकको दीर्घ अनुभवलाई सहर र देश विकासमा उपयोग गर्न सहयोग पुर्याउनेछ भने अर्कातिर उनीहरूलाई समाजसेवामार्फत सन्तुष्टि र अवसर पनि प्रदान गर्नेछ।
थप जानकारीका लागि सम्पर्क नं.: ९८४८०१८२१५

