काठमाडौँ, ७ कात्तिकः पशुपति क्षेत्रअन्तर्गत गौरीघाटदेखि गुह्येश्वरीसम्मको वाग्मती नदी किनारमा यस वर्षको छठ पर्वको तयारी सुरु गरिएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने यो सूर्य उपासना पर्वका लागि गुह्येश्वरी छठ समितिले करिब २०० वटा घाट निर्माणको काम धमाधम अघि बढाइरहेको छ ।
बाँस, माटो र डोरीको प्रयोग गरेर घाट निर्माण भइरहेको छ भने नदी किनार सफा र सिँगार्ने कार्य पनि सुरु भएको समितिले जनाएको छ । यस वर्ष छठको मुख्य दिन कात्तिक १० गते सोमबार पर्दछ, जस दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ । त्यसपछि कात्तिक ११ गते मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुनेछ ।
गुह्येश्वरी मन्दिर अघिदेखि गौरीघाटसम्मको नदी किनारमा छठघाटहरू रंगीन बत्ती र फूलमालाले सजाइँदै छन् । भक्तजनहरू उखुको लाँक्रा, केराको घरी र पूजा सामग्रीसहित नदी किनारमा बसेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्ने तयारीमा छन् ।
छठ पर्वमा व्रत धारण गर्ने महिलाहरू सोमबार बिहान स्नान गरी चोखोनितो भएर व्रत बस्छन् । मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत पूरा गरिन्छ । धार्मिक विश्वासअनुसार यसरी छठ मनाएमा मनोकामना पूरा हुने र छाला तथा आँखाका रोग नलाग्ने मान्यता रहँदै आएको छ ।
समिति सदस्य चन्द्रकान्त यादवका अनुसार, “यस वर्ष पनि भक्तजनको ठूलो भीड अपेक्षित छ, त्यसैले नदी किनार सफा र सुरक्षित बनाउने कार्यमा हामी जुटिरहेका छौं,” उहाँले बताउनुभयो ।

