• TOKHA LIVE

    • ६ कार्तिक २०८२, बुधबार २०:०४

    नेपाल सम्वत्ले भाइचाराको संस्कृतिलाई जीवन्त राखेको छः उपराष्ट्रपति यादव

    काठमाडौँ, ५ कात्तिकः उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सम्वत् ११४६ ले काठमाडौं उपत्यकाको नयाँ बहीखाता परम्परा मात्र होइन, सिङ्गो नेपाली समाजमा सहिष्णुता, मेलमिलाप र भाइचाराको अमूल्य संस्कृतिलाई जीवन्त राखेको बताउनुभएको छ।

    नेपाल सम्वत् ११४६ को आरम्भका अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई उहाँले सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो।

    उपराष्ट्रपति यादवले भन्नुभयो, “यो राष्ट्रिय सम्वत्को नयाँ वर्षले सबै नेपालीलाई राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताको संरक्षण गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा एकजुट भएर अघि बढ्न प्रेरणा र प्रोत्साहन मिलोस् भन्ने मेरो हार्दिक शुभकामना छ।”

    उहाँले नेपाल सम्वत्का प्रवर्तक तथा राष्ट्रिय विभूति शंखधर साख्वालाई स्मरण गर्दै भन्नुभयो, “गरीब र किसानलाई ऋणमुक्त बनाएर स्वाभिमानपूर्वक बाँच्ने वातावरण सिर्जना गर्नुभएको शंखधरको योगदान सधैं प्रेरणाको स्रोत रहिरहनेछ।”

    नेपाल सम्वत्, हाम्रो “विविधतामा एकता” को मौलिक पहिचानलाई अझ सुदृढ बनाउँदै, सबै नेपालीबीच आपसी अपनत्व र सद्भाव बढाउने सांस्कृतिक सेतु बनेको विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै