• TOKHA LIVE

    • २१ आश्विन २०८२, मंगलवार २१:२३

    जेन्जी आन्दोलनपछिको असुरक्षा र तोडफोडप्रति चिन्ता,टाेखाका स्थानीय नेताद्वारा ज्ञापनपत्र बुझाइयो

    – नविना श्रेष्ठ

    काठमाडौँ, २१ असोज / टोखा नगरपालिका वडा नं. २ र ३ का विभिन्न निकायका सरोकार वाला स्थानीयवासीले हालै भएको जेन्जी आन्दोलनका क्रममा टाेखामा बढेको असुरक्षा र तोडफोडप्रति चिन्ता जनाउँदै टाेखा २ ,३ का वडा कार्यालयमा वडा अध्यक्षद्वय धर्मेन्द्र श्रेष्ठ र रमेश डंगोलको साथै टाेखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलाई भेटेर संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका छन्।

    मिति २०८२ साल भाद्र २३ र २४ गते भएको सो आन्दोलनपछि टोखा क्षेत्रका विभिन्न कार्यालय, पार्टी मुख्यालय र स्थानीय संरचनामा अराजक समूहले आगजनी, तोडफोड र लुटपाट गरेको घटनाबारे जनचासो बढेको छ। स्थानीयले उक्त घटनापछि अहिलेसम्म ठोस समीक्षा वा कार्यवाही नभएको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन्।

    ज्ञापनपत्रमा उल्लेख अनुसार, आन्दोलनको समयमा टोखा वडा नं. ३ (विष्णुमती) स्थित प्रहरी प्रभागमा समेत तोडफोड भएको थियो। त्यसपछि मिति २०८२ असोज २० गते राति प्रहरी निरिक्षकसहित ३१ जना सुरक्षाकर्मीले आफ्नो ज्यानको सुरक्षाका कारण कार्यालय छोडेर हिँडेका थिए। यसले स्थानीय बासिन्दाको सुरक्षाबोध कमजोर बनाएको र संविधानले सुनिश्चित गरेको मौलिक हक र अधिकारमा समेत प्रत्यक्ष असर परेको ज्ञापनपत्रमा उल्लेख छ।

    त्यसैले स्थानीय प्रतिनिधि तथा नागरिकले ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण टोखा नगरपालिका वडा नं. २ र ३ लाई ‘सांस्कृतिक संरक्षित क्षेत्र’ घोषणा भएको सांस्कृतिक नगर हो। साथै, स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नगर प्रहरीलाई २४ सै घण्टा परिचालन गर्न र सबै राजनीतिक दल तथा संघसंस्थाको उपस्थितिमा सुरक्षा समिति गठन गरी शान्ति र अमन–चैन कायम गर्न आग्रह गरिएको छ।

    ज्ञापनपत्र बुझाउनेमा नेपाली काँग्रेस टोखा नगरपालिका वडा नं. २ का हेराकाजी महर्जन, हेमराज श्रेष्ठ ( टाेखाका मुल नायो) ,शोभलाल श्रेष्ठ (नेमकिपा), अष्टकुमार श्रेष्ठ (नेपाली काग्रेस /टोखा न.पा. वडा नं. ३),राजकाजी डंगोल (ने.क.पा. एमाले/ टोखा न.पा. वडा नं.२) सूर्यमान डंगोल (ने.क.पा. एमाले/ टोखा न.पा. वडा नं. ३) राजेन्द्र श्रेष्ठ (ने.क.पा. माओवादी/ टोखा न.पा. वडा नं. २) नविन डंगोल (ने.क.पा. माओवादी/ टोखा न.पा.३),सुसनलाल श्रेष्ठ (रा.प्र.पा./ टोखा न.पा. वडा नं.३) रमेश नापित (नेवाः गुठी टोखा),गणेशलाल श्रेष्ठ (श्री टोखा भगवती क्लव),दिपकराज जोशी (निर्वतमान वडा अध्यक्ष टाेखा-२ ) लगायतको नेतृत्वमा बुझाइएको हो। टोखाका बासिन्दाले भनेका छन् “यो हाम्रो इतिहास, संस्कृतिको जरो हो। यहाँ शान्ति नहुँदा हामी सबै असुरक्षित महसुस गरिरहेका छौँ। सरकार र स्थानीय निकायले तुरुन्त ध्यान दिनुपर्छ।” ज्ञापनपत्रमा भनिएको छ।

    टोखालाइभ संवाददाता | tokhalive.com

    Facebook Comments

    छुटाउनुभयो कि? सबै