काठमाडौँ, २० असोजः
अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयासरत रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्शका अध्यक्षहरूसँगको भेटमा मन्त्री खनालले राजस्व छुट, बैंकिङ सहुलियत र बिमामा सहजीकरण लगायतका कार्यक्रममार्फत पुनर्निर्माणमा सरकार अग्रसर रहेको जानकारी दिए।
उनका अनुसार हालै लागू गरिएको ‘भन्सार अनलाइन डेटाबेस प्रणाली’ ले सन्दर्भ मूल्य पुस्तिकामा देखिएको अस्पष्टता अन्त्य गरी बजारमा पारदर्शी कारोबारलाई प्रश्रय दिनेछ। उक्त प्रणालीले हरेक वस्तुको मूल्य विवरण सङ्ग्रह गरी विश्लेषण र तुलना गर्न सजिलो बनाउनेछ।
निजी क्षेत्रका प्रतिनिधिहरूले पनि उक्त सुधारको प्रशंसा गर्दै नयाँ प्रणालीको उपयोग गर्न आफ्ना सदस्यहरूलाई आग्रह गरे।
त्यस अवसरमा उनीहरूले ‘जेनजी प्रदर्शन’ का क्रममा व्यापारिक प्रतिष्ठानमाथि भएको तोडफोड, लुटपाट र आगजनीका घटनामा संलग्नमाथि छानबिन र कारबाही गर्न माग गरे।
व्यवसायीहरूले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम राख्ने प्रतिबद्धता जनाउँदै सरकारले उद्यमीहरूलाई निर्वाध वातावरण दिनुपर्नेमा जोड दिए।उनीहरूले “हाल सरकारको मुख्य लक्ष्य निर्वाचन भए पनि सुधारको जग बसाल्ने अवसर पनि हो। लगानी र स्रोत आकर्षित गर्न निजी क्षेत्रको अगुवाइमा बहुपक्षीय वित्त सम्मेलन आयोजना गर्न आवश्यक छ।”
निजी क्षेत्रले समयमै निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

