• TOKHA LIVE

    • २० आश्विन २०८२, सोमबार १०:२६

    बाढीपहिरोबाट विभिन्न राजमार्गमा यातायात अवरुद्ध

    काठमाडौँ, २० असोजः लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण देशभरका १८ वटा राजमार्गमा यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएका छन्।

    प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ र मकालु गाउँपालिका–३ हुँदै जाने कोशी राजमार्ग अवरुद्ध भएको छ। त्यसैगरी, ओखलढुङ्गाको मानेभञ्याङ गाउँपालिका–६ र ७ जोड्ने सिद्धिचरण लोकमार्ग तथा उदयपुरको कटारी नगरपालिका–१४ दलदलेस्थित सिद्धिचरण राजमार्ग पनि पूर्णरूपमा बन्द भएका छन्।

    प्रहरी नायब महानिरीक्षक तथा केन्द्रीय प्रवक्ता विनोद घिमिरेका अनुसार धनकुटाको पाख्रिबास नगरपालिका–५ ढिकुरेमा रहेको मध्यपहाडी लोकमार्ग र साँगुरीगढी गाउँपालिका–१ को कोशी लोकमार्ग पनि अवरुद्ध छन्। इलाम नगरपालिका–९ राजदुवालीलगायत मेची राजमार्गका विभिन्न स्थानमा समेत सडक अवरुद्ध भएको छ।

    रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ मा रहेको नेपाल–चीन मितेरी पुल र सोही गाउँपालिकाको स्याप्रुबेँसी क्षेत्रमा समेत चार ठाउँमा बाटो पूर्णरूपमा बन्द भएको प्रहरीको जानकारीमा उल्लेख छ।

    त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोस्थित अरनिको राजमार्ग, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ माम्तीखोलास्थित बिपी राजमार्ग पनि अवरुद्ध भएका छन्।

    मकवानपुरमा बकैया गाउँपालिका–११ घट्टेखोला, भीमफेदी गाउँपालिका–८ र इन्द्रसरोवर गाउँपालिका–३ कुलेखानी–दक्षिणकाली सडक खण्डहरूमा समेत बाढीपहिरोले यातायात अवरुद्ध गरेको प्रहरीले जनाएको छ।

    यस्तै, सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागस्थानस्थित मध्यपहाडी लोकमार्ग र सुनकोशी गाउँपालिका–१ नेपालथोकस्थित बिपी राजमार्ग पनि आवागमनका लागि बन्द रहेका छन्।

    प्रहरीले सम्भावित जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै