काठमाडौँ, १९ असोजः जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । विभागले आज अपराह्न एक विज्ञप्ति जारी गर्दै उक्त प्रणाली नेपालबाट बाहिरिएसँगै मनसुन कमजोर भई मौसममा सुधार आएको जानकारी दिएको हो ।
विभागका अनुसार बङ्गालको खाडीमा विकसित भएको यो न्यूनचापीय प्रणाली असोज १७ गतेदेखि सक्रिय रहँदै आज बिहानसम्म देशका विभिन्न भागमा प्रभाव पारेको थियो । यस अवधिमा देशका धेरै ठाउँमा भारी वर्षा, बाढीपहिरो तथा विपद्का घटनाहरू समेत देखिएका थिए ।
यद्यपि हाल मनसुन कमजोर भइसके पनि पूर्ण रूपमा देशबाट बाहिरिएको छैन । त्यसैले मनसुनजन्य सम्भावित प्रकोपबाट जोगिन र सतर्क रहन विभागले सबैलाई आह्वान गरेको छ ।

