• TOKHA LIVE

    • १७ आश्विन २०८२, शुक्रबार १७:२६

    पायःद्यो (खड्ग जात्रा) र तलेजुको सेतो घोडा जात्रा सम्पन्न

    भक्तपुर, १७ असोज – बडादसैँको मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो (खड्ग जात्रा) तथा तलेजु भवानीको बाहन सेतो घोडा जात्रा सम्पन्न भएको छ। संस्कृतविद् प्रकाश कायस्थका अनुसार एकादशीका दिन तलेजु भवानीको साक्षात् स्वरुप मानिने देवतालाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्याई खड्ग जात्रा मनाउने परम्परा छ। तलेजु आगम घरको खँ कुथि कोठाबाट तान्त्रिक पूजाअर्चना र बलिपात्रसहित देवतालाई बाहिर ल्याई, मूल आचाजु र पुरोहितले राजोपाध्यायलाई खड्ग हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ हुन्छ।

    खड्ग जात्रामा राजोपाध्यायले काँधमा पायःद्यो बोकेर तलेजु मूलचोकबाट बेको चोकसम्म पुजाआजा गराइदिने चलन छ। त्यसैगरी विजयादशमीको दिन नवदुर्गा भवानीका देवगण ब्रह्मायणीबाट विभिन्न टोलमा घुमेपछि दरबार स्क्वायर पुगेर बहिनी ब्रह्मायणीले दिदी तलेजु भवानीलाई दर्शन गरी ढोग गर्ने र मन्त्रसिद्धि गरिने परम्परा रहिआएको छ।

    तलेजु दरबार स्क्वायरस्थित स्वर्णद्वार (गोल्डेन गेट) पुग्दा नवदुर्गा देवगणलाई पालैपालो मन्त्रसिद्धि प्रदान गर्ने परम्परा रहेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो। त्यसपछि पायःद्यो नवदुर्गा देवगणसहित यात्रा पथमा अगाडि बढ्ने गर्छ।

    यसवर्ष जात्राको मार्ग दरबार स्क्वायरस्थित गोल्डेन गेटबाट सुरु भई बालाखु गणेश, भोलाछेँ, दत्तात्रय, सुकुलढोका, क्वाछें, तौमढी हुँदै जगन्नाथ (पशुपति) मन्दिर परिक्रमा गरी पुनः दरबार स्क्वायरमा फर्काएर बिहानी पख सम्पन्न गरिएको थियो।

    विजयादशमीको रातमा चार मूल नाइके, आचाजु, जोशी र राजोपाध्यायले तान्त्रिक विधिअनुसार कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा गरेपछि सेतो घोडा जात्रा सुरु हुन्छ। घोडाजात्रा अघि सेतो घोडालाई एउटा भेँडा बलि दिइ, नगरको विभिन्न टोल परिक्रमा गराइने प्रचलन छ। ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको खड्ग जात्रा र सेतो घोडा जात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको मध्यरातमा मनाइँदै आएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै