काठमाडौं, ११ असोज ।
टेकुस्थित ऐतिहासिक पचली भैरव जात्रामा आज बिहानैदेखि पूजाआराधना र दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ। साढे चार दशकपछि गत वर्ष पुनः सुरु भएको यो जात्रा फेरि पनि उल्लासमय र श्रद्धाभावका साथ सम्पन्न हुँदैछ।
आश्विन शुक्ल चतुर्थीका दिन पचली भैरवको लिङ्गो (योसिंः) ठड्याएर सुरु हुने यो जात्रा आज मुख्य दिन पारेर बिहानैदेखि भैरव मन्दिरमा पूजा, आराधना र हवन सम्पन्न गरिएको छ। पूजाआराधना सकिएपछि बेलुकी ५ बजेदेखि जात्रा राजधानीको भित्री सहरमा घुमाइने कार्यक्रम छ।
पचली भैरव जात्रा गुठी व्यवस्थापन समितिका संयोजक एवं काठमाडौं महानगरपालिका–१२ का अध्यक्ष बालकृष्ण महर्जनका अनुसार, जात्रा टेकुस्थित पचली भैरव मन्दिरबाट सुरु भई लगन, हनुमानढोका दरबार क्षेत्र हुँदै कुमारी घरमा कुमारीको दर्शन गर्ने परम्परा छ। त्यसपछि जात्रा फर्केर जैसीदेवल, ज्याबहाल, ब्रह्मटोलसम्म ल्याइने र यो यात्रा आश्विन शुक्ल अष्टमीसम्म निरन्तर घुमाइने प्रचलन छ।
यो जात्राका लागि विशेष तयारी पनि गरिन्छ। परम्पराअनुसार पचली भैरवका गुठियारहरूले साँखुमाथि जङ्गलबाट काठ ल्याएर योसिंः ठड्याउने गर्छन्। दशैं आउन लागेको संकेत दिन आश्विन शुक्ल चौथीका दिन योसिंः उठाइने र अष्टमीका दिन ढालिने परम्परा छ।
इतिहासविद्हरूका अनुसार, यो परम्परा मल्लकालदेखि सुरु भएको हो। मल्ल राजा जयराम मल्लले जात्राको सुरुआत गरेका थिए भन्ने विश्वास रहिआएको छ। उहाँलाई जात्राको क्रममा “थकु जुजु” भन्दै विशेष पूजा गर्ने चलन आजसम्म जीवित छ।
जात्राको व्यवस्थापन श्री पचली भैरव आजु यो सिं गुठीले गर्दै आएको छ। राजधानीका बासिन्दादेखि टाढाटाढाबाट आएका भक्तजनले यो जात्रामा सहभागिता जनाएर आफ्नो आस्था, संस्कार र संस्कृति जगेर्ना गर्ने गरेका छन्।

