• TOKHA LIVE

    • ११ आश्विन २०८२, शनिबार १२:११

    राष्ट्र बैंकको नयाँ निर्देशन : महिलालाई रोजगारी दिने उद्योगलाई सस्तो ब्याजमा कर्जा

    काठमाडौँ, ११ असोज। नेपाल राष्ट्र बैंकले शुक्रबार नयाँ एकीकृत निर्देशन सार्वजनिक गर्दै महिलालाई रोजगारी दिने र निर्यातमुखी उत्पादनमा संलग्न उद्योगलाई विशेष सहुलियत दिने घोषणा गरेको छ।

    निर्देशनअनुसार, कम्तीमा १०० जना महिलालाई रोजगारी दिने र उत्पादनको कम्तीमा २५ प्रतिशत विदेश निर्यात गर्ने उद्योगलाई न्यूनतम ब्याजदरमै कर्जा प्रवाह गरिनेछ। यस्ता उद्योगले पाउने कर्जामा आधारदरमा बढीमा १ प्रतिशत मात्र प्रिमियम थप गर्न पाइने व्यवस्था गरिएको छ।

    यस्तै, ‘जेनजी’ प्रदर्शनका कारण प्रत्यक्ष असर पाएका उद्योग, व्यापार र कर्मचारीलाई तलब–भत्ता लगायत सुविधा दिनका लागि आधारदरमा बढीमा ०.५० प्रतिशत प्रिमियम थप गरेर कर्जा उपलब्ध गराइनेछ। यस्तो कर्जामा पहिलो ६ महिनासम्म २ प्रतिशत ब्याज सरकारले नै अनुदान स्वरूप बुझाइदिनेछ।

    त्यसका लागि प्रभावित संस्थाले आगामी पुस मसान्तभित्र आवेदन दिनुपर्ने व्यवस्था छ।

    निर्देशनमा व्यवसायिक रूपमा प्रयोग भइरहेका सवारीसाधन वा ढुवानीका साधन क्षति भई प्रतिस्थापन गर्नुपर्ने अवस्थामा ऋण मूल्य अनुपात ८० प्रतिशतसम्म कायम गर्न सकिने उल्लेख छ।

    त्यसैगरी, रसुवा र तातोपानी नाकामा प्राकृतिक प्रकोपका कारण प्रभावित कर्जालाई पनि ऋणीको अनुरोधमा पुनरतालिकीकरण गर्ने सुविधा दिइएको छ। यस्तो पुनरतालिकीकरण गरिएको कर्जा भने अघिल्लो वर्गीकरणमै कायम हुने व्यवस्था गरिएको छ।

    राष्ट्र बैंकको यो कदमलाई महिलामुखी रोजगारी र निर्यात प्रवर्द्धनसँगै कठिनाइमा परेका उद्योग–व्यवसायलाई ठूलो राहतका रूपमा हेरिएको छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै