काठमाडौँ, ११ असोज ।
देशकै पुरानो समाजसेवी संस्था परोपकार संस्थाले शुक्रबार आफ्नो ७९ औँ स्थापना दिवस मनाएको छ । यस अवसरमा प्रा. हरिप्रसाद पराजुलीद्वारा लिखित ‘समाजसेवाका शिखर पुरुष दयावीरसिंह कंसाकार’ नामक पुस्तक सार्वजनिक गरियो ।
पुस्तकमा संस्थापक दयावीरसिंह कंसाकारले २००१ सालतिर हैजाको महामारी फैलिएको बेला देखाएको निःस्वार्थ सेवा, रक्तदान अभियान, परोपकार आदर्श हाइस्कूल, अनाथालय, प्रसूतिगृह, दान विभाग र औषधालय स्थापना जस्ता योगदानका प्रसंग समेटिएका छन्।

कार्यक्रममा सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालले लेखक पराजुली र प्रकाशनमा सहयोग गर्ने गोपालकृष्ण मानन्धरलाई सम्मानपत्र प्रदान गर्नुभयो । उहाँले आफूले २०३० सालमा परोपकार आदर्श हाइस्कूलमा शिक्षक जीवन सुरु गरेको स्मरण गर्दै भने,
“दयावीरसिंह प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो, उहाँबाट धेरै कुरा सिक्ने अवसर पाएँ।”
परोपकार संस्थाका अध्यक्ष हितकरवीर कंसाकारले “परोपकार र दयावीरसिंह पर्यायवाची हुन्” भन्दै संस्थाको हिसाबकिताब सरकारबाट निष्पक्ष छानबिन भए आफूलाई खुशी लाग्ने बताए।
त्यसैगरी, बाल विकास समाजका सल्लाहकार शरद् शर्माले दयावीरसिंह कंसाकारको नाममा राष्ट्रिय स्तरको पुरस्कार स्थापना गर्नुपर्ने आवश्यकता औंल्याए।
संस्थाका कोषाध्यक्ष उत्तमलाल जोशीका अनुसार, परोपकार संस्थाले आर्थिक वर्ष २०८१/८२ मा दुई करोड ५० लाख आम्दानी र दुई करोड छ लाख खर्च गरेको छ । हाल संस्थाले दान विभाग, औषधि वितरण, प्राथमिक स्वास्थ्य केन्द्र सहयोग, एम्बुलेन्स, अनाथालय र चिकित्सालय संचालन गर्दै आइरहेको छ।
परोपकार संस्थाको यो यात्रा केवल सामाजिक सेवामात्र नभई मानवताको निरन्तर अभ्यास बनेको भन्दै सहभागीहरूले दयावीरसिंह कंसाकारलाई श्रद्धापूर्वक सम्झिएका थिए।

