• TOKHA LIVE

    • ११ आश्विन २०८२, शनिबार ११:४०

    सञ्चारमन्त्री खरेल : विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरकारको सहयोग रहने

    काठमाडौँ, ११ असोज।
    सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विज्ञापन बोर्डको कामकाजलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

    शुक्रबार बोर्डको सेवा प्रवाहबारे जानकारी लिनुहुँदा मन्त्री खरेलले प्रदेश र स्थानीय तहको सहभागितासहित विज्ञापन कर संकलनको व्यवस्था गर्न छलफल भइरहेको बताउनुभयो। उहाँले विज्ञापन क्षेत्रलाई पारदर्शी र उत्तरदायी बनाउन सरकारले आवश्यक कदम चाल्ने आश्वासन दिनुभयो।

    सो अवसरमा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले आमसञ्चार माध्यम, होर्डिङ बोर्ड, सामाजिक सञ्जाल र मेला महोत्सवमा हुने विज्ञापन नियमन तथा व्यवस्थापनका चुनौतीबारे मन्त्रीलाई जानकारी गराउनुभएको थियो। उहाँले विज्ञापन बजारलाई व्यवस्थित बनाउन प्रदेश र स्थानीय तहको सक्रियता अनिवार्य भएको भन्दै विज्ञापन कर स्थानीय तहबाटै संकलन हुने व्यवस्था गर्न आग्रह गर्नुभयो।

    मन्त्री खरेल र बोर्डबीच भएको छलफललाई सरोकारवालाले विज्ञापन बजारलाई पारदर्शी, न्यायोचित र व्यवस्थित बनाउन सकारात्मक कदमका रूपमा लिएका छन्।

    Facebook Comments

    छुटाउनुभयो कि? सबै