काठमाडौँ, असोज १० /
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वमा नयाँ अभ्यास सुरु गर्ने घोषणा गर्नुभएको छ। उहाँले सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने र त्यसका लागि छानबिन आयोग गठन गर्ने तयारी भएको जानकारी दिनुभयो।
शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले पुरानै ढङ्गमा पार्टी चल्न नसक्ने भन्दै नयाँ कार्यशैली आवश्यक रहेको स्पष्ट पार्नुभयो। उहाँले नेताहरुको जीवनशैली, व्यवहार र संगठन सञ्चालनमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो।
“अब पुरानै ढङ्गले चल्दैन, नयाँ कार्यविधि र ढङ्गबाट अघि बढ्नुपर्छ,” प्रचण्डले भन्नुभयो। उहाँले नेताहरूको खानपान, लवाइखवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउनुपर्ने सुझावसमेत दिनुभयो।
बैठकपछि माओवादी केन्द्रको केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुने छ। साथै, तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन पार्टीले पहल गर्ने पनि बैठकमा निर्णय भएको छ।

