टोखा, असोज ९ / टोखा नगरपालिका वडा ३ ले वडाभित्र रहेका सबै घरधनीलाई आफ्नो घरमा कोठा भाडामा बस्ने व्यक्तिहरूको विवरण अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गर्न आग्रह गरेको छ।
वडा कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, “घरधनी वा घरमालिकले आफ्ना घरमा कोठा लिई बस्ने व्यक्तिहरूको नागरिकताको विवरण वडा कार्यालयमा दर्ता/अद्यावधिक गराउनुपर्नेछ। यसले सुरक्षाका दृष्टिले मद्दत पुग्नेछ।”
त्यस्तै, सूचनामा थप चेतावनी दिँदै भनिएको छ कि यदि भाडामा बस्ने व्यक्तिहरूले कुनै किसिमको गैरकानूनी वा आपराधिक गतिविधि गरेमा त्यसको सम्पूर्ण जिम्मेवारी घरधनी आफैंले लिनुपर्नेछ।
वडा अध्यक्ष रमेश डंगोलले घरधनीहरूलाई यस विषयमा संवेदनशील बन्न आग्रह गर्दै भने, “यसले समाजमा सुरक्षाको भावना बलियो बनाउन मद्दत गर्छ। हरेक घरधनीले समयमै विवरण अद्यावधिक गर्न आवश्यक छ।”यो सूचना कार्यान्वयन भएपछि वडाभित्र बसोबास गर्नेहरूको विवरण व्यवस्थित हुने र सम्भावित अपराध रोकथाममा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

