काठमाडौँ, २६ भदौ / देशभर बढ्दो असुरक्षा बीच सुरक्षाकर्मीहरूको सक्रियताले फेरि कैदी नियन्त्रणमा लिन सफल भएको छ।
सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयासमा रहेका १९२ जना कैदीलाई सेनाले नियन्त्रणमा लिएको छ। त्यस्तै, कञ्चनपुरको चाँदनी क्षेत्रमा भारततर्फ भाग्दै गरेका सात कैदीलाई भारतीय सीमा सुरक्षा बलले समाती नेपाली पक्षलाई बुझाएको छ। स्थानीयको सहयोगमा एक कैदी पक्राउ परे भने १२ जना आफैं कारागार फर्किएका छन्।
यता रामेछापमा कैदीले बाहिर जानुपर्ने भन्दै गरेको झडपलाई नियन्त्रणमा लिन सेनाले गोली चलाउँदा १२ जना घाइते भएका छन् भने दुई जनाको मृत्यु भएको छ।
यसैबीच, काभ्रेपलाञ्चोकको बनेपा–९ मा फेला परेको शंकास्पद वस्तु सेनाले सुरक्षित रूपमा निस्क्रिय पारेको छ। हालसम्म ९४ नाल हतियार बरामद भएको सेनाले जनाएको छ। जनजीवनलाई शान्त बनाउन सुरक्षाकर्मीहरूको सक्रियता निरन्तर जारी छ।

