काठमाडौँ, २४ भदौ/
देशका विभिन्न स्थानमा भएको आन्दोलनका क्रममा युवायुवती तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको पीडादायी घटनाप्रति विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि संगठनहरूले गहिरो दुःख व्यक्त गरेका छन्।
संयुक्त विज्ञप्तिमार्फत एनएमए, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनका अध्यक्षहरूले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। साथै, उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
“दर्जनौं होनहार विद्यार्थी र युवाहरूको ज्यान गुमाउनु परेको यो मार्मिक घडीमा हामी सबै स्तब्ध छौं,” विज्ञप्तिमा भनिएको छ, “यस पीडादायी क्षणलाई स्मरण गर्दै आज भदौ २४ र २५ गते दुई दिन शोक विदा दिने निर्णय गरिएको छ।”
विज्ञप्तिमा अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज र सबै सरोकारवालालाई संयमता र धैर्यका साथ सामाजिक शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सहयोग गर्न आग्रह गरिएको छ।


