नविना श्रेष्ठ
भदौ १८, २०८२
टोखा काठमाडौं /समाजसेवा, प्रकृतिप्रेम, न्यायको पक्षमा आवाज उठाउँदै सामाजिक तथा राजनीतिक नेतृत्वमा सक्रिय टाेखाका सान चाेकी हेराकाजी महर्जन युनिप युएन नेपाल ग्लोरी अवार्ड २०२५ बाट सम्मानित भएका छन्।
नेपाल कांग्रेस टोखा २ का वडा सभापति समेत रहेका महर्जनलाई सोमबार थाइल्याण्डको राजधानी बैंककस्थित प्रिन्सटन होटलमा आयोजित विशेष कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो। नेचर इन्टरनेशनल पीस (युएनआईपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा युएनआईपी थाइल्याण्ड अध्यक्ष डा. श्रीवान किङ्जुन, भिक्षु डा. राजु लामा, पी. कोन्दन तथा संयोजक सरोज ओझालगायतले महर्जनलाई बहुक्षेत्रीय योगदान को आधारमा सम्मानित गरेका हुन्।

राजनीतिसँगै समाज रुपान्तरण र जनचेतनामूलक अभियानमा लामो समयदेखि सक्रिय महर्जन धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणदेखि विपत्तिका बेला मानवीय सहयोग पुर्याउने कार्यमा निरन्तर जुटिरहेका छन्। समाजलाई उज्यालो बनाउन सधैं अग्रपंक्तिमा रहने व्यक्तिका रूपमा उहाँलाई यसपटकको अवार्डले थप प्रेरणा दिएको आयोजकहरूले बताएका छन्।

