काठमाडौं, भदौ १३
टोखा नगरपालिका–४, धापासी लाम्पाखा चोकमा आज बिहानै अविरल वर्षासँगै ठूलो पहिरो खस्दा स्थानीय जीवन अस्तव्यस्त बनेको छ।
ठूलो ढिस्को खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने नजिकैका घर र बिजुलीका पोल समेत उच्च जोखिममा परेका छन्। दैनिक यात्रु र व्यवसाय प्रभावित भएपछि स्थानीयबासीमा थप त्रास फैलिएको छ।

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र टोखा नगरपालिकाको प्राविधिक टोली मेसिनरी प्रयोग गरी बाटो खोल्ने कार्यमा जुटेका छन्। हालसम्म कुनै मानवीय क्षति नभए पनि आवतजावत र आसपासको व्यापार ठप्प बनेको छ।
सडक वरिपरि अझै जोखिम कायम रहेकाले सुरक्षाका लागि स्थानीयलाई सचेत रहन आग्रह गरिएको छ।

