काठमाडौं, श्रावण १४ ।
शहरीकरणसँगै बढ्दो जनघनत्व र घरटहराको विकासले गर्दा सम्भावित आगलागी जोखिमलाई मध्यनजर गर्दै टोखा नगरपालिकाले पहिलोपटक दमकल (वारुण यन्त्र) खरिद गरेको छ।
टोखा नगर प्रमुख प्रकाश अधिकारीका अनुसार नगरको १६औँ नगरसभाले आर्थिक वर्ष २०८१/८२ को बजेटमा यस विषयमा निर्णय गरी दमकल खरिदको प्रक्रिया अघि बढाएको थियो। “जनताको ज्यानधनको सुरक्षालाई ध्यान दिँदै छोटो समयमै दमकल ल्याउन सफल भयौं,” नगरप्रमुख अधिकारीले बताए।
नगरका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले दमकल अब छिट्टै सञ्चालनमा आउने जानकारी दिए।

सूचना प्रविधि अधिकृत बसन्त पाठकका अनुसार दमकल खरिदका लागि नगरपालिकाले ८३ लाख रुपैयाँको अनुमानित लागतसहित टेण्डर आह्वान गरेको थियो। प्रतिस्पर्धामार्फत ७७ लाख रुपैयाँमा दमकल खरिद गरिएको हो।
धापासीका एक स्थानीय बासिन्दाले भने, “२०८१ पुस ४ गते हाम्रो टोलको एउटा घरमा आगलागी भयो। त्यसबेला नगरप्रमुखले दमकल ल्याउने बचन दिनुभएको थियो। अहिले त्यो वाचा पूरा भयो, हामी निकै खुसी छौँ।”
टोखा ६ का अर्का स्थानीय भन्छन्, “हरेक वर्ष टोखामा कहीँ न कहीँ आगलागीका घटना भइरहन्छन्। अब भने समयमै नियन्त्रण गर्न सकिने आशा छ।”
यता, टोखा–९ का वडाध्यक्ष रामभक्त घिमिरेले दमकल नगरको मुख्य सडकमा मात्र पुग्ने भएकाले आन्तरिक गल्लीमा समेत सजिलोसँग पानी पुर्याउनका लागि हाइड्रेन्ट पाइप बिछ्याउने काम सम्पन्न भइसकेको जानकारी दिए।
दमकल खरिदसँगै नगरवासीमा आशाको किरण देखिएको छ। अब आगलागीजस्ता आकस्मिक घटनामा टाेखा नगरले थप सजगताका साथ समयमै हस्तक्षेप गरि अब आगलागी हुनबाट जोगाउन सकिनेछ।

