• TOKHA LIVE

    • ६ श्रावण २०८२, सोमबार १९:२४

    टोखामा मध्यरातिको आक्रमण : सार्वजनिक पार्क भत्काउने योजनाकारलाई कारबाहीमा राजनैतिक दबाब ?

     

    टाेखालाइभ / श्रावण  ६, काठमाडौं
    टोखा नगरपालिका वडा नं. ७ मा नवनिर्मित सार्वजनिक पार्कमाथि भएको एक दर्दनाक घटनाले सिंगो समुदायलाई स्तब्ध बनाएको छ। विगत १५ दिनअघि मात्र निर्माण सम्पन्न भएको उक्त पार्कमा, बिहीबार राति १ बजेको समयमा दर्जन बढी व्यक्तिको समूह हातहतियारसहित आएर संरचना भत्काइदिए।

    स्थानीयहरू भन्छन्, “धेरै मेहनत र उत्साहसाथ बनाइएको पार्क क्षणभरमै ध्वस्त पारियो। रातभर ठोकाठोकको आवाज, हामी आतंकित भएका छौं ।

    पक्राउ त गरियो , तर कारवाही कहाँ ?

    घटनापछि प्रहरी सक्रिय भयो। अनुसन्धानको क्रममा प्रमुख योजनाकारका रूपमा दुर्गानन्द यादव र उनका छोराको संलग्नता खुलेपछि प्रहरीले उनीहरूलाई जोरपाटीबाट पक्राउ गर्‍यो। तर घटनाको अर्को दुःखद पाटो यहाँबाट सुरु हुन्छ।

    स्रोतहरूका अनुसार, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले यादवमाथिको कारबाही रोक्न महाराजगञ्ज प्रहरी वृत्त र टोखा नगरका जनप्रतिनिधिमाथि निरन्तर दबाब दिइरहेका छन्।

    अभियुक्त हिरासतमा होइन सम्पन्न अस्पताल!

    पक्राउ परेका यादव बाबुछोरा हिरासतमा होइन, उपचारको नाममा ग्रिनसिटी अस्पतालमा छन्। उनीहरू विरामी भएको बहानामा अस्पतालमा राखिएका छन्। आज थप गरिएको तीन दिनको म्याद सकिँदैछ। तर अहिलेसम्म उनीहरूविरुद्ध कानुनी कारबाहीको कुनै ठोस प्रक्रिया अघि बढाइएको छैन।

    केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी विनोद घिमिरे स्पष्ट शब्दमा भन्छन्, “सार्वजनिक सम्पत्ति नष्ट गर्नेविरुद्ध कडा कानुनी कारबाही हुन्छ। म्याद थप भइसकेको अभियुक्तलाई यसरी छाड्न मिल्दैन।”

    यति गम्भीर अपराधपछि पनि, के न्याय पाउँछ टोखा?
    प्रहरी र जनप्रतिनिधिहरूको प्रयासले मुख्य दोषी पहिचान भए पनि अन्य संलग्नलाई नछुने र दोषीमाथि कारबाही नहुने संकेतले स्थानीयहरू चिन्तित छन्।

    पार्क भत्काउने घटना के थियो ?

    रातको एक बजे दर्जनभन्दा बढी मानिस गल, हतौडाजस्ता हातहतियार लिएर पार्क भत्काउन आए। करिब १५ मिनेटमै पार्कका बत्तीहरू, पर्खाल र अन्य संरचना भत्काइदिएर फरार भए। स्थानीयहरूले आवाज सुनेपछि बाहिर निस्किए, तर समूह पहिले नै भागिसकेको थियो।
    प्रहरीले घटनास्थलबाट गल र केही कपडा बरामद गरेको थियो। सीसीटीभी फुटेजमार्फत पहिचान भएपछि यादव बाबुछोरा पक्राउ परेका थिए।

    “यो त सार्वजनिक सम्पत्तिमाथि खुला आक्रमण हो। कसैले प्रश्न नगरून् भनेर डर देखाउने प्रयास हो। अब हामी चुप लाग्दैनौं,” एक स्थानीय बासिन्दाले भने।

    यो घटना कानुनभन्दा माथि उठेर राजनैतिक पहुँचद्वारा अपराधीलाई जोगाउने खतरनाक संकेत हो। अब प्रहरी, स्थानीय सरकार र जनताले एक भएर न्यायको बाटो खोज्नु आवश्यक छ , नत्र भोलि फेरि यस्तो हमला हुन सक्छ।

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै