टोखा, साउन ३ ।
टोखा नगरपालिकाको तिलिङ्गाटारस्थित पार्क क्षेत्रमा गए राति भएको एक रहस्यमय घटनाले नगरवासीहरू स्तब्ध भएका छन्। नगरपालिकाको बजेटमा हालै निर्माण सम्पन्न गरिएको ३८ मिटर लामो पर्खालमा करिब २५ जनाको अज्ञात समूहले मध्यराति तोडफोड गरेका छन्। पर्खालसँगै त्यहाँ जडान गरिएका २४ वटा बत्तीहरू समेत तोडिएका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार रातको करिब १ बजेतिर एक समूह हतियारसहित योजनाबद्ध रूपमा आएको थियो। उनीहरूले कुनैपनि रोकटोक बिना पर्खाल भत्काए, बत्ती तोडे र अँध्यारोमै हराए।
मात्र एक महिनाअघि सम्पन्न भएको यो संरचना नगरपालिकाले पार्क सौन्दर्यीकरणको योजनाअन्तर्गत निर्माण गरेको थियो।
घटना सुन्नासाथ नगरप्रमुख प्रकाश अधिकारी, वडा अध्यक्ष नरोतम राणा, जनप्रतिनिधि गोपी पाठक लगायत सुरक्षाकर्मी र स्थानीयवासीहरू घटनास्थलमा पुगेका थिए। स्थलगत अवलोकनपछि नगर प्रमुख अधिकारीले गम्भीर चिन्ता व्यक्त गर्दै भने, “सम्पत्ति नाश गर्ने यो कार्यले हाम्रो समाजमा अराजकता ल्याउने प्रयास हो। यस्तो कार्यलाई नगरपालिकाले कदापि स्वीकार गर्नेछैन।”
टोखा नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै घटनाको कडा निन्दा गरेको छ र दोषी पहिचान गरी कानुनी कारबाही गर्न सुरक्षा निकायलाई अनुरोध गरेको छ।
प्रहरीले पनि घटनाको अनुसन्धान सुरु गरिसकेको छ र दोषीहरू चाँडै पक्राउ पर्ने विश्वास व्यक्त गरिएको छ। यश घटनाक्रम देखेर स्थानीयहरू आक्रोशित भएका छन्। उनीहरूको एउटै आवाज छ “नगरको विकाससँग लड्नेहरूको अनुहार चाँडै देखिनुपर्छ। हामी शान्तिको पक्षमा छौं, तर अन्याय सहन सक्दैनौं।”

