काठमाडौं, असार २६ ।
गुरु शिष्य परम्परालाई सम्मान गर्दै ललितकला क्याम्पस, भोटाहिटीमा आज गुरु पूर्णिमा विशेष कार्यक्रमसहित मनाइएको छ। विद्यार्थीहरूको प्रतिनिधि संस्था (स्ववियु) को आयोजनामा सम्पन्न यस कार्यक्रममा क्याम्पसका शिक्षक-शिक्षिकाप्रति श्रद्धा र कृतज्ञता व्यक्त गरिएको थियो।

क्याम्पसका द्वितीय तृतिय वर्षका विद्यार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुति मार्फत गुरुहरूको सम्मानमा सुमधुर रागदेखि आधुनिक गीतहरू प्रस्तुत गर्दै वातावरणलाई थप रंगीन बनाएका थिए।
कार्यक्रमको अध्यक्षता स्ववियु सभापति आशिष पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा क्याम्पस प्रमुख डा. यामप्रसाद शर्माले दीप प्रज्वलन गर्दै कार्यक्रमको उद्घाटन गर्नुभयो।

उहाँले गुरुको जीवनमा हुने भूमिकाबारे बोल्दै भन्नुभयो, “जीवनको सिप सिकाउने मूल आधार नै गुरु हुन्। उज्यालो भविष्य निर्माणमा सधैं विद्यार्थीहरूलाई सहारा दिने गुरुहरूको भूमिका अमूल्य हुन्छ।” उहाँले विद्यार्थीहरूको सफलता नै साँचो गुरु दक्षिणा भएको उल्लेख गर्दै परिश्रम गर्न प्रेरित गर्नुभयो।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख कृष खरेल, संगीत विभागका अतुल सर, मूर्तिकला विभागका हरि सर र देवेन्द्र पाण्डे सर लगायत अन्य शिक्षकहरूको समेत उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम बीएफए प्रथम वर्षकी छात्रा तमन्ना थापाले आकर्षक शैलीमा सञ्चालन गरेकी थिइन्


