• TOKHA LIVE

    • २५ असार २०८२, बुधबार १०:४२

    ललितपुरमा ऐतिहासिक नृसिंह जात्राको तयारी : मल्ल राजालाई फूल राखेर निमन्त्रणा दिइने

     

    ललितपुर, असार २५ /

    ललितपुरमा संचालन हुने ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिको रूपमा फूल राखेर मल्ल राजालाई भोली निमन्त्रणा दिने कार्य हुँदैछ। हरेक वर्ष स्वां तवनेगु भनेर नृसिंह जात्रा संचालन गर्न जिम्मा पाएको पालोवाला राजोपाध्यायको परिवारको अगुवाईमा गुरू पूर्णिमाका दिन ललितपुरका मल्ल राजालाई फूल, जनै, सुपारी लगायत राखेर निमन्त्रणा दिने गरिन्छ।

    विसं १७४१ मा राजा भएका योगनरेन्द्र मल्ललाई आजसम्म पनि जीवित राजाका रूपमा मानिन्छ। दरबारको उपल्लो तलाको पश्चिमपट्टीको एक कोठाको झ्याल खुला राखी उहाँका लागि एउटा शयनकक्ष अद्यापि तयार नै राखिएको हुन्छ। २०४६ सालसम्म उहाँका लागि भनेर प्रत्येक बिहान तमाखु लिएर जाने गरिन्थ्यो। दरबार अगाडि रहेको योगनरेन्द्र मल्लको शालिकको टाउकोमा एउटा चरा पनि छ। उहाँले आफू मर्ने बेलामा त्यो चरा उडेर नगएसम्म आफूलाई ज्युँदै छ भन्ठान्नू भनेका कारण अहिलेसम्म पनि योगनरेन्द्र जीवितै रहेको विश्वास गरिन्छ। सोही विश्वासमा ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिको रूपमा मल्ल राजालाई पाटन दरवारको तुसाहिटीमा रहेको शिलाको खातमा निमन्त्रणा स्वरूप फूल राख्ने गरिन्छ। हाल गुथी संस्थान ललितपुरका प्रमुखको उपस्थितिमा फूल राख्ने गरिन्छ। मल्ल राजालाई निमन्त्रणा दिएपछि मात्र राष्ट्रपति, गुथिका थकालीहरू लगायतलाई जात्रामा सामेल हुन निमन्त्रणा दिने गरिन्छ।

    हरेक वर्ष भाद्र शुक्ल पंचमीका दिन नृसिंह जात्रा संचालन हुने गर्दछ भने यसवर्ष साउन २९ गते यो जात्रा हुँदैछ । यस वर्षको जात्राको लागि भोली दिउँसो १ बजे मल्ल राजालाई निमन्त्रणा स्वरूप फूल राख्ने विधि हुन लागेको हो।

    ललितपुरका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताका आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर नृसिंह जात्रा संचालन गर्ने गर्दछ भने पालो परेको गुथियारलाई उपकर्म गुठी व्यवस्थापन समिति, श्रीनृसिंह जात्रा व्यवस्थापन समिति र श्रीनृसिंह जात्रा समारोह समितिले जात्रा सञ्चालन गर्न सहयोग गर्ने गर्दछ। यस वर्षको जात्रा संचालन गर्ने जिम्मा गाःबहालको मधुर शर्मा राजोपाध्यायको परिवारले पाएको छ।

    यो जात्रा नेपाल सम्वत् ७५१‚ अर्थात् विक्रम सम्वत् १६८८ देखि निरन्तर सञ्चालन भइरहेको लिखित दस्तावेज छ ।

     

    Facebook Comments

    सम्बन्धित खवर
    सिफारिस सबै
    छुटाउनुभयो कि? सबै